मनोज शाह
जीतपुर,“फोहोर जथाभावी बाटोमा नफ्यालौं, सभ्य नागरिकको परिचय देऔं” भन्ने मूल नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी टोल विकास समितिले सिमराका विभिन्न सार्वजनिक चौकहरूमा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरेको छ ।सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने गलत बानीलाई निरुत्साहित गर्दै स्वच्छ, सफा र सभ्य सहर निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको टोल विकास समितिका अध्यक्ष लक्ष्मण राणा भट्टले बताउनुभयो । उहाँले सरसफाइ सभ्य समाजको पहिचान भएको उल्लेख गर्दै फोहोर जथाभावी नभई डस्टबिनमै फाल्न सबै नगरवासीलाई आग्रह गर्नुभयो ।अभियानका क्रममा समितिका पदाधिकारीहरूले सरसफाइमा सबैको साझा जिम्मेवारी रहने बताउँदै व्यक्तिगत सचेतनासँगै सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका छन् । यस अभियानले वातावरण संरक्षण, जनस्वास्थ्य सुधार तथा सहरको सुन्दरता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।कार्यक्रममा स्थानीय समाजसेवी युवाराज पौडेलले राम जानकी टोल विकास समितिको यस पहलको खुलेर प्रशंसा गर्दै यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो । यस्ता अभियानले सिम्रालाई सफा, सुन्दर र स्वस्थ सहर बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।उक्त डस्टबिन वितरण कार्यक्रम राम जानकी टोल विकास समितिका अध्यक्ष लक्ष्मण राणा भट्टको नेतृत्वमा सम्पन्न भएको हो ।



















