बारा, ६ असोज । बाराको अमलेखगंजस्थित इलाका प्रहरी कार्यालयले सोमबार ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले करिब २ सय ३७ किलो गाँजा सहितको मिनि ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२१ अन्तर्गत अमलेखगंजस्थित इलाका प्रहरी कार्यालय अगाडिको चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकेर तलासी गर्दा गाँजा बरामद गरिएको हो। गाँजालाई ट्रकको छत तथा तल्लो भागमा फोल्स बटम बनाएर ट्रिपालले ढाकी लुकाइ–छिपाई ल्याइँदै गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
उक्त मिनि ट्रकका चालक मकवानपुर कैलाश गाउँपालिका–१० का अन्दाजी ३८ वर्षीय रमेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएको गाँजा, ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। प्रहरीले बरामद भएको गाँजा करिब २ सय ३७ किलो रहेको पुष्टि गरेको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















