हेटौडा,हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ ।
भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाले उहाँलाई कार्यकक्षमै आक्रमण गरेका हुन । उनीहरूले कार्यालयमा रहेका सामानले वडा अध्यक्ष न्यौपानेको टाउकोमा प्रहार गरेर मोबिल छ्यापेका थिए ।
आक्रमणबाट वडा अध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार वडा अध्यक्ष न्यौपानेले चलाउने दुईवटै मोबाइल आक्रमणकारीले लिएर गएका छन् ।
केही दिनअघिबाट हेटौंडा– १ स्वर्गलोक हेटौंडा अस्पतालपछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कार्यक्रम अघि बढाएको थियो ।आक्रमणकारीले सोही विषयमा वडा अध्यक्षमाथि आक्रमण गरेको आशंका गरिएको छ । घटनापछि मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँसहित अन्य वडाका अध्यक्ष घटनास्थल पुगेका थिए ।प्रमुख लामाले प्रहरीलाई घटनाको गम्भीरताका साथ अनुसन्धान गर्न, दोषी पहिचान गरी कडा कानूनी कारबाही गर्न आग्रह गर्नुभएको छ ।


















