दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराका दुई स्थानीय पालिकाले संघीय र प्रदेशको बजेट आएसगै निति तथा बजेट कार्यक्रम ल्याएका छन । जिल्लाको प्रसौनी गाउँपालिका र पचरौता नगरपालिकाले सोमवार पालिका सभाको आयोजना गरे आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेका हुन ।प्रसौनी गाउँपालिकाले मधेश प्रदेश सरकारले आफ्नो बजेट सार्वजानिक गरेको भोलिपल्ट अर्थात् सोमवार बजेट सार्वजनिक गरको हो ।
प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोदप्रसाद जयसवालले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट सोमवार प्रस्तुत गर्नुभएको हो । गाउँपालिका अध्यक्ष जयसवालले आर्थिक वर्ष २०८२-०८३ को लागि रु ४१ करोड १ लाखको बजेट सार्वजानिक गर्नुभएको छ ।उक्त बजेट सार्वजानिक गर्दै गाउँपालिका अध्यक्ष जयसवालले बिगत झै आगामी वर्षमा समेत विकास कार्यलाई पालिकाको टोलटोलसम्म पु¥याउने प्रतिवद्धता जनाउनुभएको हो ।उहाँले आगामी वर्षलाई ‘व्यवस्थित पूर्वाधार, समावेशी विकास र पारदर्शी प्रशासन’ को आधार बनाएर अघि बढ्ने जनाउनुभएको हो ।
गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष जयसवालले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगार, सामाजिक सुरक्षा जस्ता प्राथमिक क्षेत्रहरूमा विशेष जोड दिइएको बताएका छन । साथै जनताले सरकारलाई नजिकबाट महसुस गर्न सकुन् भन्ने उद्देश्यले प्रत्येक टोलमा सन्तुलित विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभएको छ ।उक्त गाउँसभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देबी,प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर प्रसाद, लेखाअधिकृत प्रेमबाबु पटेल, वडा नम्बर १ देखि वडा नम्बर ७ सम्मका सम्पुर्ण वडा अध्यक्ष, वडा सदस्य, सम्पुर्ण गाउँकार्यपालिका सदस्यहरुलगायत गाउँसभा सदस्यहरु राजनितिक दलको प्रतिविधिहरु कर्मचारी, समाजसेवी, संञ्चारकर्मी, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख सुरेश साहले गर्नुभएको थियो ।
त्यसैगरीपचरौता नगरपालिकाले पनि १४ औैं नगर सभामार्फत नीति तथा बजेट कार्यक्रम ल्याएको छ ।
नीति तथा कार्यक्रम उपप्रमुखले बाचन गर्नुपर्ने परम्परा भएपनि पचरौताका वडा नम्बर ५ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मी यादवले आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको सभामा नगरपालिकाले आव २०२-०३ को लागि रु. ६५ करोड ३१ लाख छैसठ्ठी हजार नौ सय बाउन्न को बजेट सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषिका साथै वडा नम्बर १ मा रहेको छोटी भन्सारलाई सञ्चालन गराउन आवश्यक सडक विस्तार र जनताको स्वास्थ्य बिमामा लाग्ने ५० प्रतिशत नगरपालिकाले ब्योहोर्ने लगायतका योजना समेटिएका छन ।नगर सभामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रशान्त जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारीले गर्नुभएको थियो ।



















