वीरगञ्ज,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरगञ्ज नर्सिङ क्याम्पस कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पस परिसरमा भव्य रूपमा सम्पन्न भएको छ ।बिहीवार सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीर शम्सेरको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, रेशमकोठी शाखाका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश थारु, राजेन्द्र भट्टराई, राजन श्रीवास्तव, राम किशोर पराग तथा वीरगञ्ज नर्सिङ कलेजकी प्रमुख कल्पना पौडेल विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रदिल घिसिङ, ओशिङ राई, दीपा रञ्जित, दीपा गुरुङ, सोनी राई, रियाज अन्सारी, पविना थापा लगायत २१ जनाले स्वेच्छिक रूपमा रगतदान गरेका थिए। विभिन्न पृष्ठभूमिका सहभागीहरूका कारण कार्यक्रममा विविधता र उत्साहपूर्ण वातावरण देखिएको थियो ।रक्तदान कार्यक्रम रक्तसंचार केन्द्र वीरगञ्ज का प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता लगायतको प्राविधिक सहयोगमा सफलतापूर्वक सम्पन्न भएको हो । आयोजकका अनुसार कार्यक्रमले स्वास्थ्यप्रति जागरूकता फैलाउने तथा विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्य राखिएको थियो ।
अनेरास्ववियु वीरगञ्ज नर्सिङ क्याम्पस कमिटीले संयोजन गरेको यस अभियानबाट विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्न तथा समुदायमा स्वास्थ्य चेतना फैलाउने मद्दत पुग्ने आयोजकले जनाएको छ ।


















