काठमाण्डौं,पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक रूपमा बन्दी बनाएको एम्नेस्टीको ठहर रहेको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीहरूमाथि कारबाहीका क्रममा ठूलो मात्रामा हिंसा देखिएको खबरमा उल्लेख छ । प्रहरी र प्रदर्शनकारीहरूबीचको झडपमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका छन् । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै गएको आइतवारदेखि शुरू भएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।
अन्यायपूर्वक जेलमा राखिएका इमरान खानको रिहाइ नभएसम्म सडक नछोड्ने प्रदर्शनकारीहरूले बताएका थिए । तर बिहीवार उनीहरूले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् ।