निजगढ,बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या आरोपमा नेकपा एमालेका एकजना कार्यकर्ता र स्थानीय अर्का १ जना शिक्षकसहित ७ जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।
प्रहरीले क्याम्पस प्रमुख कुशवाहाको हत्या अभियोगमा प्रहरीले आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरियाका एमालेका कार्यकर्ता ५४ वर्षीय विनोद राउत कुर्मी र विद्यालयका शिक्षक ३४ वर्षीय राधेसकुमार पटेलसहित ७ जनामाथि मंगलवार मुद्दा दर्ता गरेको हो । विनोद एमाले बारा जिल्ला कमिटीका पूर्वसदस्य र पूर्ववडा अध्यक्ष पनि हुन भने हालैमात्र नियुक्ति पाएका राधेस स्थानीय विद्यालयका स्थायी शिक्षक हुन ।
त्यसैगरी प्रहरीले ३२ वर्षीय अवधलाप्रसाद कुशवाहा, २९ वर्षीय चांदसीप्रसाद कुशवाहा, बतराका २७ वर्षीय श्रवणकुमार साह, कलैया उपमहानगरपालिका १० मटिअर्वाका ५० वर्षीय ब्रम्हदेव राम र करैयामाई गाउँपालिका ७ पिपरा टोलका ५० वर्षीय मोतिलाल चौधरीमाथि मुद्दा दर्ता गरेको छ ।उनीहरुमाथि हातहतियार खरखजानासम्बन्धि मुद्दाअन्तर्गत सम्मानित बारा जिल्ला अदालतबाट मंगलवारबाट लागु हुने गरी दिन ६ (छ) को म्याद थप लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहासहित अन्य फरार प्रतिवादीहरुको खोजी कार्य जारी रहेको पनि उहाँले जानकारी दिनुभएको छ । प्रवक्ता न्यौपानेका अनुसार हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ ।
गाउँबाट कलैयातर्फ मोटरसाइकलमा फर्किने क्रममा कुशवाहामाथि आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलमा सुरेन्द्रसहित मोटरसाइकलमा पछाडि आएका व्यक्तिले जेठ ३२ गते गोली हानी हत्या गरेका थिए । गोली लागेलगत्तै क्याम्पस प्रमुख कुशवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेकोभन्दै प्रहरी र आफन्तलाई मोबाइलबाट फोन गरेर सुनाएका थिए ।प्रहरीले सोही घटनामा प्रयोग गरिएका तीन वटा मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप, नेपाली तथा भारतीय सिम बरामद गरेको पनि जनाएको छ ।यसैबीच एमालेले भने राजनीतिक पूर्वाग्रहमा आफ्ना कार्यकर्ता विनोदमाथि मुद्दा दर्ता गरेको आरोप लगाएको छ । एमाले बारा जिल्ला कमिटीका सदसय लालबाबु यादवले स्थानीय राजनीतिक अन्तरविरोधको प्रभावमा परेर पटेलमाथि झुटा मुद्दा लगाउने काम भएको बताउनुभयो ।

















