काठमाण्डौ – आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा आज पुरुषतर्फ हेल्प नेपाल, नेपाल पुलिस र गण्डकी प्रदेशले विजयी शुरुवात गरेका छन् । पुरुषतर्फ शनिवार भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठलाई ३–१ को सेटमा पराजित ग¥यो ।
यस्तै दोस्रो खेलमा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । यस्तै तेस्रो खेलमा गण्डकीले एपीएफलाई ३–१ सेटले पराजित गरेको हो । यस्तै महिलातर्फको पहिलो खेलमा एपीएफले चन्द्रागिरीले ३–२ सेटले हराएको छ ।त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा आउँदो मंगलवार तीन वटा तथा अरू दिन दुई वटा खेल हुनेछ ।लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।



















