सर्लाही,माध्यमिक शिक्षा परीक्षा (एसइई) र विद्यालय वार्षिक परीक्षा नजिकिँदै गर्दा सर्लाहीको हरिपूर्वा नगरपालिकाका विद्यालय भने १६ दिनदेखि बन्द छन । नगरपालिकाभित्रका सम्पूर्ण १६ वटा सामुदायिक विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा बसेका छन् ।
साउनदेखिको तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा बसेपछि करिब पाँच हजार विद्यार्थी मारमा परेका हुन् । यो वर्ष वडा नम्बर ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाबाट २३९ र वडा नम्बर ९ स्थित रामजानकी माध्यमिक विद्यालय वसन्तपुरबाट १३८ जना विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।
यी सबै विद्यार्थीले अहिले घरमै बसेर एसइईको तयारी गरिरहेका छन् । हरिपूर्वा नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्लेले शिक्षकहरुले तलब प्राप्त नहुन्जेल धर्ना जारी राख्ने भएकाले विद्यालय खुल्न नसकेको बताउनुभयो ।
“साउनदेखि नै तलब नपाउनुभएका शिक्षकहरु तलब नपाउञ्जेल विद्यालय खोल्न तयार हुनुहुन्न, उहाँहरुलाई पनि आठ महिनासम्म तलब नपाउँदा समस्या नै छ,” शिक्षा अधिकृत काफ्लेले भन्नुभयो, “यसले गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई ठुलो मार परेको छ ।हरिपूर्वामा तलब माग्दै कर्मचारी र स्वास्थ्यकर्मी माघ २८ गतेदेखि नै कार्यालय बन्द गरेर धर्नामा बसिरहेका छन् ।

















