बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर २ र ३ स्थित सिङ्गौलमा खानेपानीको अभाव हुन थालेको छ ।सुक्खा मौसमको सुरुवातसंगै पानीको मुल सुकेर घरमा जडान गरेको धारामा खानेपानी आउन छाडेपछि स्थानीय उपभोक्ताले अभाव बेहोर्नु परेको हो । लामो समयसम्म वर्षा नहुदा जमिनमूनिको पानीको श्रोत घट्दै गएको र डिप बोरिङ्ग तथा खोलाको ट्याङ्कीबाट आपूर्ति हुने पानी पनि कम भएकोले सिंगौलमा पिउने पानीको अभाव सृजना भएको स्थानीय रामगोपाल धामीले बताउनुभयो ।सुख्खा मौसमको सुरुवात भएपछि स्थानीयले प्रयोग गर्ने पानीका मुल सुक्न थालेको हो । पानी कम आउन थालेपछि दुई तले र तिन तले घर भएका केही उपभोक्ताहरुले मोटरको प्रयोग गरेर घरको छतमा जडान गरिएको टयांकीमा पानी तान्न थालेका छन । मोटरले पानी तान्न थालेपछि अन्य सर्वसाधारण उपभोक्ताहरुको धारा पानी कम आउन थालेको छ ।सिंगौल वडा नम्बर १ मा पनि उपभोक्तहरुले प्रयोग गर्दैआएको डिप बोरीङमा समेत पानीको तह घटेको र तातो पानी आउन थालेको धामीको भनाइ छ । सिंगौल वडा नम्बर २ र ३ मा संचालनमा रहेको डिप बोरिङबाट मात्र खानेपानी पर्याप्त नहुने भएकोले स्थानीयले वर्षौदेखि गाउँ नजिककै बगर खोलाको पानी समेत प्रयोग गर्दै आएका छन । केही उपभोक्ताहरुले मोटर राखेर पानी तान्न थालेपछि धारामा पानी कम आएर सर्वसाधारण उपभोक्ताहरुलाई पानीको अभाव हुन पुगेको सिंगौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण लामिछानेले बताउनुभयो । सिमित व्यक्तिले मोटरले पानी तान्न थालेपछि उत्पन्न भएको खानेपानीको समस्या न्युनीकरण गर्न सकिने अध्यक्ष लामिछानेको भनाइ छ । समितिका पदाधिकारी र उपभोक्ताले साथ दिएको खण्डमा सिंगौलको वडा नम्बर २ र ३ मा खानेपानीको आपूर्ति सहज गर्न सकिने उहाँको भनाइ छ ।

















