सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले लघुउद्यम विकास कार्यक्रम (मेड्पा) संचालन गर्न तीन वटा वडा चयन गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार बसेको बैठकले यस वर्ष कार्यक्रम संचालन हुने तीन वटा वडा चयन गरेको हो ।यस वर्ष वडा नं. ८, १७ र १८ मा मेड्पा कार्यक्रम संचालन हुने भएको छ । उद्योग मन्त्रालयको सशर्त अनुदानबाट गत दुई आर्थिक वर्षदेखि जीतपुरसिमरामा मेड्पा कार्यक्रम संचालन भईरहेको छ ।नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले उद्यम विकास समिति र अनुगमन समिति गठन गर्दै कार्यक्रम संचालन हुने वडा चयन गरेको हो । गरिबी निवारणका लागि उद्यमी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको मेड्पा कार्यक्रमबाट यस वर्ष ८० जना उद्यमी उत्पादन गर्ने लक्ष्य लिइएको छ ।मेड्पा कार्यक्रममा छनौट भएका स्थानीयलाई सिपमुलक तालिम दिने र आत्मनिर्भर बन्नका लागि आवश्यक सामाग्री उपलब्ध गराउदै आएको छ । अघिल्लो दुई आर्थिक वर्षमा जीतपुरसिमराको आठ वटा वडामा कार्यक्रम संचालन भएको थियो ।आर्थिक वर्ष २०७७।७८ मा वडा नं. ६, १९, २० र २२ तथा २०७८।०७९ मा ५,११,१२ र १३ नं. वडामा कार्यक्रम संचालन भएको हो । उक्त कार्यक्रमबाट एक सय ८० जनालाई सिपमुलक तालिम दिनुका साथै सामाग्री वितरण गरिएको थियो । यस आर्थिक वर्षमा उक्त एक सय ८० जनामध्येबाट ४० जनालाई स्तरोन्नतीका लागि सहयोग गर्ने निर्णय समेत भएको छ ।यसैगरी बैठकले मेड्पा कार्यक्रमलाई प्रभावकारी बनाउन नगर प्रमुख पौडेलको संयोजकत्वमा सात सदस्यीय उद्यम विकास समिति गठन गरेको छ । समितिको सदस्यमा विषयगत समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, शाखा प्रमुख बालाराम खड्का, सुशिलादेवी चौधरी, महिला उद्यमी प्रतिनिधि रिता कंडेल, सहकारी संस्थाकी प्रतिनिधि कमलाकुमारी अधिकारी रहेका छन् ।यस्तै बैठकले उपप्रमुख भोलाप्रसाद अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिको सदस्यमा कार्यपालिका सदस्य प्रभावती पासवान, अधिकृत दुर्गा न्यौपाने, लघु उद्यमी प्रतिनिधि शान्ताकुमारी बजगाई, मेड्पा शाखाका सदस्य सचिव दीपनारायण चौधरी रहेका छन् । मेड्पाले यस वर्ष जीतपुरसिमरा उपमहानगरपालिकामा २९ लाख रकमबाट कार्यक्रम संचालन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here