सत्ता गठबन्धनको भागबन्डाअनुसार धेरै जिल्लामा संघ र प्रदेशतर्फ शून्य सिटको अवस्था भएपछि एकीकृत समाजवादीभित्र असन्तुष्टि बढेको छ । थुप्रै जिल्लामा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दर्ता गराएको छ भने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईविरुद्ध कांग्रेसले बागी उम्मेदवारी दर्ता गराएको छ । भोजपुर प्रदेश सभा (क) मा राईविरुद्ध तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

गुल्मी २ मा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डा. दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेश आयोग सदस्यबाट राजीनामा दिएपछि कांग्रेसले भुसाललाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको थियो । मुगु (क) मा एकीकृत समाजवादीका उम्मेदवार गोपाल बमविरुद्ध कांग्रेसका खगेन्द्र मल्लले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापमा गठबन्धन छोडेर एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दर्ता गराएको छ । पोलिटब्युरो सदस्य तथा पूर्वसांसद देवशंकर पौडेलले प्रतिनिधिसभा र प्रदेश सभा (क)मा रमेश बस्नेत र (ख)मा झम्क कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

कञ्चनपुरमा एकीकृत समाजवादीबाट बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावल र निवर्तमान सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उम्मेदवारी दिएका छन् । रावलले कञ्चनपुरको प्रदेश सभा क्षेत्र नम्बर ३ (क) बाट र खड्काले प्रदेश सभा क्षेत्र २ (ख) मा उम्मेदवारी दिएका हुन् ।

काभ्रे २ (ख) मा कांग्रेसका कञ्चनचन्द्र बादेविरुद्ध एकीकृत समाजवादी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईले उम्मेदवारी दर्ता गराएकी छन् ।

धनुषा २ मा सत्तारुढ गठबन्धन दल कांग्रेसका रामकृष्ण यादवविरुद्ध एकीकृत समाजवादीका रामचन्द्र झाले बागी उम्मेदवारी दिएका छन् । धनुषा १ (ख) मा लोसपाका सञ्जय सिंहले बागी उम्मेदवारी दिएका छन् । सिट बाँडफाँडमा सो क्षेत्र कांग्रेसले पाएको छ । कांग्रेसले सो क्षेत्रमा लक्ष्मीनारायण यादवलाई उम्मेदवार बनाएको छ ।

नया पत्रिका

Leave a Reply