काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन् । लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले ‘ह्याट्रिक’ गरेका हुन् । उनी ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् ।
भृकुटीमण्डपमा बिहीबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ओली १ हजार ६६३ मत मतसहित निर्वाचित भए । उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत प्राप्त गरे ।
२०७१ साल असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेका थिए । त्यतिबेला ओली १ हजार ४७ मत प्राप्त गरी विजयी हुँदा नेपालले एक हजार ३ मत पाएका थिए ।
२०७८ साल भदौमा एमाले विभाजन भएपछि चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहे पनि पूर्वउपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा जानु परेको थियो । त्यस महाधिवेशनमा ओली एक हजार ८३७ मत ल्याएर विजयी हुँदा रावलले २२३ मत प्राप्त गरेका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबाट सत्ताच्यूत भएका तत्कालीन प्रधानमन्त्री ओली पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्ष अगाडि आयोजना गरेर नेतृत्वमा आफ्नो पकडलाई मजबुत बनाएका हुन् ।
को हुन् ओली ?
२००८ साल फागुन ११ गते तेह्रथुम जिल्लामा जन्मिएका ओली सामान्य पारिवारिक अवस्थाका थिए । उनका बाबु मोहनप्रसाद ओली ज्योतिषी हुन् । सानै उमेरमा आमा गुमाएका ओली हजुरआमा (राममाया ओली)को छत्रछायामा हुर्किएका थिए ।
जेनजी विद्रोहका क्रममा बालकोट निवास ध्वस्त भएपछि उनी अहिले श्रीमती राधिका शाक्यका साथ भक्तपुरको गुन्डुमा बस्दै आएका छन् । ओलीका बुवा मोहनप्रसाद ओली, भाइ जयप्रसाद ओली र भाइबुहारी इन्दिरा ओली झापामा बस्दै आएका छन् ।
एसएलसीसम्म अध्ययन गरेका ओली नेपाली राजनीतिमा प्रखर वक्ताका रूपमा चिनिन्छिन् । उनी २०७२, २०७४ र २०८१ मा गरी जम्मा चार पटक प्रधानमन्त्री भए । समकालीन राजनीतिका चतुर खेलाडी मानिने ओली आफ्नो रुखो बोलीका कारण बेलाबखत विवादमा आउने गरेका छन् ।
राजनीतिक यात्रा
२०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त ओली २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध हुँदै नेतृत्व गर्न सफल भए । २०२६ सालमा नेकपाको सदस्यता पाएपछि उनले पार्टीको उपसचिवको जिम्मेवारी बहन गरे ।
२०२७ वैशाखमा तत्कालीन नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण भएको थियो । २०२८ साल वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएको थियो । २०२९ सालमा तत्कालीन नेकपा झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा ओलीले जिम्मेवारी बहन गरे । ओली चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये एक थिए ।
१७ वर्षको उमेरमा वामपन्थी आन्दोलनमा सहभागी भएका ओली २२ वर्ष पूरा नहुँदै १४ वर्षे जेल जीवन बिताउन बाध्य भए ।
तत्कालीन शासन सत्ताको विरोधमा उत्रिएका उनी पहिलो पटक २०२७ फागुन १६ गते आइतबार झापाबाट गिरफ्तार भए । पहिलो गिरफ्तारमा झापा पुलिस थानामा बसेका उनी २०२७ र २०३० का बिचमा पटक–पटक गरी १० पटकभन्दा बढी गिरफ्तार भएका थिए ।
–२०३० असोज २३ गते रौतहटबाट पक्राउ परी जेल जीवन प्रारम्भ ।
–पहिलो पटक रौतहटको गौर जेल, गौर थाना, २ दिनमात्र ।
–त्यसपछि वीरगञ्ज थाना, वीरगञ्ज जेलमा चलान ।
–२०३० मंसिर ८ गते भद्रगोल जेल, काठमाडौँमा चलान ।
–३ दिनपछि ११ गते सेन्ट्रल जेल गोलघर चलान ।
–२०३० मंसिर ११ देखि २०३२ वैशाख १६ सेन्ट्रल जेल गोलघरमा । त्यसपछि गोलघर बाहिर ।
–२०३३ साउनमा नख्खु जेल चलान ।
–२०३३ मंसिरमा केन्द्रीय कारागार गोलघरमै ।
–२०३६ जेठमा गोलघर बाहिर ।
–२०३७ चैतमा पुनः नख्खु जेल चलान ।
–२०३९ माघ ३ मा पोखरा जेल चलान ।
–२०४२ कात्तिकमा स्याङ्जा जेल चलान ।
–२०४३ मंसिर ८ मा हनुमान ढोका जेल चलान ।
–०४३ माघ १२ मा भद्रगोल जेल चलान ।
–२०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा ।
खुला राजनीतिमा आएपछि ओली २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भए । उनी २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य भए ।
जेलबाट रिहा भएपछि ओलीले निरन्तर पार्टीको राजनीतिक जिम्मेवारी निर्वाह गर्दै आएका छन् । २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुँदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्न पुगेका उनले २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट साविक लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए ।
२०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणका सिलसिलामा मदन भण्डारीलाई ओलीले सघाउन अहम् भूमिका निर्वाह गरे ।
२०५९ सालमा भएको नेकपा एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा ओलीले प्रस्तुत गरेको वैचारिक कार्यक्रमिक प्रस्ताव अहिले सबै कम्युनिस्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरूले समेत मूल नीतिका रूपमा अवलम्बन गरेको ओली आफैँ दाबी गर्छन् ।
संसदीय यात्रा
–२०४८ मा सम्पन्न आमनिर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
–२०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा झापा–६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
–२०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिस्ट सारकारमा गृहमन्त्रीको जिम्मेवारी बहन ।
–२०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा–२ र ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित । साथै, नेकपा एमाले दलको उपनेता चयन ।
–२०६३ जेठमा गठित मन्त्रिपरिषदमा उप–प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको रूपमा जिम्मेवारी बहन ।
–२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा झापा–६ बाट पराजित ।
–२०७० मंसिरमा सम्पन्न संविधान सभा निर्वाचनमा झापा–७ बाट संविधान सभा सदस्यमा निर्वाचित । साथै, एमाले संसदीय दलको नेता चयन ।
–२०७४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा– ५ बाट विजयी ।
विभिन्न समयमा प्रतिनिधि सभा, मन्त्रिपरिषद् र संविधान सभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी बहन गरेको ओलीले विभिन्न समयका आन्दोलन तथा विचारधारा निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
ओलीको विदेश यात्रा
ओलीले विभिन्न चरणमा पार्टीको तर्फबाट र सरकारको तर्फबाट दुई दर्जनभन्दा बढी देशको यात्रा गरिसकेका छन् । प्रधानमन्त्रीको हैसियतमा पछिल्लो समय भदौ १४ देखि १८ गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गरेका ओलीले साङ्घाई सहयोग सङ्गठन (एससिओ)शिखर सम्मेलनमा भाग लिने क्रममा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ओली पहिलोपटक बेइजिङमा आयोजना भएको ८०औँ वार्षिकोत्सवका विशेष सैनिक परेड कार्यक्रममा समेत सहभागी भएका थिए ।
चीन भ्रमणको क्रममा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेताहरूसँग साइड लाइन भेटवार्ता गरेका थिए । तर स्वदेश फर्किएको पाँच दिनमै जेनजी विद्रोहका कारण ओली सत्ताच्यूत भएका थिए ।
उनले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुस आदि मुलुकको भ्रमण गरिसकेका छन् ।


















