सरकारले गलत गर्छ तर कृषकहरुले त्यसलाई राम्रो गर्दछन् यसैको उदाहरण आठ वर्षदेखि अलपत्र रहेको एउटा सरकारी सिँचाइ आयोजनालाई पर्साका किसानहरुले श्रमदान गरेर संचालनमा ल्याएको कुरा नै हो ।पर्साको जिराभवानीपुर गाउँपालिकामा संघीय सरकारको बजेटमा निर्माण शुरु भएर अलपत्र पर्दैआएको घोडेमसान सिँचाइ आयोजनाबाट किसानहरुले आफै प्रयासमा पानी संचालन गरेका हुन । मानव बस्तीभन्दा करिब २० किलो मिटर टाढा उत्तरतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा रहेको घोडेमसान खोलाको पानी ल्याएर सिँचाइ गर्न संघीय सरकारले आर्थिक बर्ष २०७३-०७४ सालमा १८ करोड रुपैयाको लगानीमा आयोजना शुरु गरेको थियो ।
उपभोक्ता समितिमार्फत निर्माण हुने भनिएको सो आयोजना अन्तर्गत निकुञ्जको जंगलभित्र कुलो निर्माण कार्यको लागि ६५ लाख र आवादी क्षेत्रमा कुलो निर्माण कार्यको लागि ८५ लाख रुपियाँ लगानी भएको थियो ।मुख्यत ः सिँचाईका लागि पानी ल्याउन कतिपय खहरे खोलामा पक्की साइफन (अन्डरग्राउन्ड कुलो) समेत निर्माण गरिएको थियो । तर बजेटको निरन्तरता नहुँदा आयोजना अलपत्र परेर निर्माण भएका अधिकांश स्थानका कुलो पुरिएको र भत्किएको अवस्थामा रहेको थियो ।जिराभवानी गाउँपालिकाको हरैया, बसन्तपुर, काठमाडौंटोल, तिनटोलिया, शान्तिनगर तथा ठोरी गाउँकपालिका वडा नम्बर ५मा पर्ने गडुवालाईन, क्षेत्रीलाईन, बथेटोलका किसानहरुले सोही कुलो र साइफनको मर्मत गरेर एक साता अघिबाट पानी संचालनमा ल्याए अब त्यो उनीहरुका लागि सिँंचाइका लागि निके हितकर हुनेछ । दैनिक ४०-५० जना किसानहरुले जंगल प्रवेश गरी बाँध र कुलो मर्मतको लागि श्रमदान गरे र यो कृषकहरुको सहनीय कदम हो ।
घोडेमसान खोलाको पानीले सो क्षेत्रको करिब एक हजार पाँच सय बिघा जमिनमा सिँचाइ गर्न सकिने छ र यसले कृषकहरुलाई निकै राहत मिल्नेछ । कृषि उत्पादनमा निकै फलदायी पनि हुनेछ ।सिँचाईको अभावमा पर्साका ग्रामीण भेगका कतिपय खेतहरु बाँझै छन् । राज्यले गर्न पर्ने कुरा, कृषक आफैले गरेका छन् तर यसको व्यवस्थापन भने सरकारले गर्नुपर्दछ । यसतर्फ स्थानीय सरकारले पनि ध्यान दिँदा राम्रो हुनेछ ।















