निजगढ,बारा जिल्लामा हैजा रोगविरुद्ध संचालन भइरहेको अभियान अन्तर्गत बिहीवारसम्ममा २ लाख ११ हजार १०८ जनाले खोप लिएका छन ।असोज २७ गतेबाट सुरु भएको खोप कार्यक्रम अन्तर्गत बिहीवार चौंथो दिन जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, फेटा, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाका ५८ प्रतिशत लाभग्राहीहरुले खोप खाएका हुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लाका ६ पालिकाका ७५ वडाबाट अभियान संचालन गरिरहेको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार अभियान अन्तर्गत कुल ३ लाख ६५ हजार ९ सय ३१ जनसङ्ख्यालाई खोप दिने लक्ष्य छ । उहाँले लक्ष्यअनुसार हिजोसम्म ५८ प्रतिशत कभरेज हासिल भएको छ ।खोप वितरणको पालिकागत प्रगतिको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका सबैभन्दा अगाडि देखिएको छ । सो पालिकामा खोप दिने लक्ष्य राखिएका १ लाख २७ हजार ९ सय ५६ जना मध्ये हिजोसम्म ८१ हजार ७७२ जनाले खोप लिएका छन ।
त्यसैगरी कलैया उपमहानगरपालिकामा १ लाख ३६ हजार ४ सय ३२ मध्ये ७६ हजार ५४५ जना र फेटा गाउँपालिकामा २८ हजार ६३ मध्ये १५ हजार ३४९ जनाले खोप खाएका छन ।
उता, विश्रामपुर गाउँपालिकामा २४ हजार ३ सय ५७ मध्ये १० हजार ७०९ जना, प्रसौनीमा २४ हजार ८ सय २० मध्ये १३ हजार ४०९ जना र परवानीपुरमा २४ हजार ३ सय ३ मध्ये १३ हजार ४२४ जनाले खोप लगाएका छन् ।
अभियानलाई प्रभावकारी बनाउन जनस्वास्थ्य कार्यालयले २ सय १० खोप कार्यकर्ता, ३ सय ७९ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ७९ स्वयंसेवक परिचालन गरेको छ ।सरकारले पर्सा र बारामा हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर अभियान सञ्चालन गरेको हो । आगामी कार्तिक २ गतेसम्म चल्ने अभियान अन्र्तगत १ वर्षमाथिका सबै उमेर समूहलाई खोप प्रदान गरिनेछ । अभियानले जिल्लाबासीहरुलाई हैजाबाट जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
















