वीरगंज, ६ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र वीरगञ्ज नाका हुँदै एक खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै २० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक खर्ब २२ अर्ब ३२ करोड मूल्य बराबरको सामान भित्रिएकोमा यस वर्ष त्यही अवधिमा २४ अर्ब ३२ करोड रुपैयाँले बढी सामान आयात भएको छ । भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार यो वृद्धि आयातमा मात्र नभई निर्यात र राजस्व सङ्कलनमा समेत देखिएको छ ।
उनले भने, “गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात मात्रै होइन, राजस्व सङ्कलनमा पनि उल्लेखनीय वृद्धि भएको छ ।”

वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । अघिल्लो आवको पहिलो दुई महिनामा रु ६ अर्ब ५ करोड मूल्यका सामान निर्यात भएका थिए । चालु आवको पहिलो दुई महिनामा भने रु १७ अर्ब ३ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् ।यसरी निर्यातमा मात्रै १० अर्ब ९८ करोड रुपैयाँ बराबरको वृद्धि भएको देखिन्छ ।

वीरगञ्ज नाका नेपालको सबैभन्दा ठूलो व्यापारिक नाका मानिन्छ । भारतसँगको मुख्य व्यापारिक मार्ग भएकाले देशको कुल आयात–निर्यातको ६५–७० प्रतिशत कारोबार यसै नाकाबाट हुने गरेको छ । यस वर्षको पहिलो दुई महिनामा आयात र निर्यात दुवैमा देखिएको वृद्धि अर्थतन्त्रका लागि सकारात्मक सन्देशका रूपमा लिइएको छ ।

भन्सार कार्यालयका अनुसार, आयात–निर्यात दुवै बढेकाले राजस्व सङ्कलनमा पनि उल्लेखनीय सुधार भएको छ । यद्यपि कार्यालयले राजस्व सङ्कलनको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

व्यापारमा देखिएको यो वृद्धिलाई अर्थशास्त्रीहरूले सकारात्मक भनेका छन् । तर, आयात बढी र निर्यात तुलनात्मक रूपमा अझै कम हुनु नेपाली अर्थतन्त्रको दीर्घकालीन चुनौती रहेको टिप्पणीसमेत उनीहरूको छ ।

Leave a Reply