कोल्हबी,बाराको कोल्हबी नगरपालिकामा अत्याधुनिक र व्यवस्थित हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी असोज महीनाबाट संचालनमा ल्याउने गरी हाटबजार निर्माणको काम भइरहेको साईट इन्चार्ज दिनेश खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार हाटबजार निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम केही दिनमै सकिने छ ।
कोल्हबीको मुख्य चोकमा ३ बिघा क्षेत्रफलमा निर्माण भइरहेको यो हाटबजारमा ७ वटा ब्लक, ७२ सटर भएको ३ वटा सपिङ कम्प्लेक्स, २६ सटर भएको २ वटा भवन र दुई वटा खुद्रा बजारको सेड तयार गरिएको छ । बजारको बीचमा खुला स्थान राखी हाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
गर प्रमुख रामप्रसाद चौधरीले लामो समयदेखि असुरक्षित र अव्यवस्थित अवस्थामा व्यवसाय गर्दै आएका व्यापारीलाई सुविधा दिने उद्देश्यले यो आयोजना सुरु गरिएको बताउनुभयो । उहाँले हाट सञ्चालनमा आएपछि व्यवसायीको स्वास्थ्यमा असर नपर्ने र कृषकले उत्पादनलाई सहजै बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।हाटबजार निर्माणका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । नगर इन्जिनियर गणेशप्रसाद चौधरीका अनुसार, पर्खाल, अण्डरपास नाला, सडक स्तरोन्नति, इन्टरलक टायल, शौचालय, पार्किङ र विश्रामस्थल निर्माण पूरा भइसकेको छ । साथै, बजार क्षेत्रमा मूल्य सूचीसहितको डिस्प्ले बोर्ड पनि राखिनेछ ।नगरपालिकाले आउँदो असोजदेखि सञ्चालनमा ल्याउने तयारी गरेको सो हाटबजारलाई बारा जिल्लाको नमूना हाटबजारका रूपमा हेरिएको छ ।
















