काठमाण्डौं,उत्तरी इराकको गुफामा खोजी अभियानका क्रममा मिथेन ग्यासको सम्पर्कमा आएर टर्किएका १२ जना सैनिकको ज्यान गएको छ ।आइतवार गुफा खोजी र सफा गर्ने कार्यका क्रममा कम्तीमा १९ जना सैनिक मिथेन ग्यासको सम्पर्कमा आएकामा आजसम्म १२ जनाको ज्यान गएको टर्किएको राष्ट्रिय रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मिथेन ग्यास प्रत्यक्ष रूपमा विषाक्त हुँदैन तर साँघुरो र बन्द ठाउँहरूमा निसास्साउने हुँदा यो घातक हुन सक्छ ।
मिथेन ग्यासको सम्पर्कमा आएका सैनिकहरूले सन् २०२२ मा इराकमा कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का लडाकूहरूविरुद्धको सैन्य अपरेशन ‘क्ल लक’ का क्रममा गोली हानाहानमा मारिएका एक सैनिकको शव खोजिरहेका थिए । अपरेशन ‘क्ल लक’ मा गुफाहरूमा हवाई हमलाका साथै जमिनमा आक्रमण पनि समावेश थियो ।टर्किए, युरोपेली सङ्घ, बेलायत र अमेरिकामा आतङ्कवादी समूहका रूपमा प्रतिबन्धित पीकेकेले टर्किएविरुद्ध ४० वर्षदेखि विद्रोह गर्दै आएको छ ।यसैबीच टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनाप्रति दुःख व्यक्त गर्दै सैनिक परिवार र देशको सशस्त्र बलप्रति समवेदना व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

Leave a Reply