कलैया,बारा जिल्लामा हैजा रोगविरुद्ध संचालन भइरहेको अभियान अन्तर्गत बुधवारसम्ममा १ लाख ४६ हजार ३६२ जनाले खोप लिएका छन ।असोज २७ गतेबाट सुरु भएको खोप कार्यक्रम अन्तर्गत बुधवार तेस्रो दिन जिल्लाका ६ पालिकामा ४० प्रतिशत लाभग्राहीहरुले खोप खाएका हुन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, फेटा, विश्रामपुर, प्रसौनी र परवानीपुर गाउँपालिकाका ७५ वडामा अभियान जारी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार, कुल ३ लाख ६५ हजार ९ सय ३१ जनसङ्ख्यालाई लक्षित अभियान अन्तर्गत बुधवारसम्म ४० प्रतिशत कभरेज हासिल भएको हो ।

खोप वितरणको पालिकागत प्रगति हेर्दा जीतपुरसिमरामा सबैभन्दा बढी १ लाख २७ हजार ९ सय ५६ मध्ये ६० हजार ४८४ जनाले खोप लिएका छन । त्यसैगरी कलैयामा १ लाख ३६ हजार ४ सय ३२ मध्ये ४९ हजार ९७५ जना, फेटामा २८ हजार ६३ मध्ये १० हजार ३२६, विश्रामपुरमा २४ हजार ३ सय ५७ मध्ये ७ हजार ६५ जनाले, प्रसौनीमा २४ हजार ८ सय २० मध्ये ९ हजार १७० जना र परवानीपुरमा २४ हजार ३ सय ३ मध्ये १२ हजार ९४० जनाले खोप लगाएका छन् ।
अभियानको पहिलो दिन सामेवार जिल्लामा १८ हजार ९ सय ६४ जनाले मात्र खोप प्राप्त गरेका थिए ।

अभियानलाई प्रभावकारी बनाउन २ सय १० खोप कार्यकर्ता, ३ सय ७९ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ७९ स्वयंसेवक परिचालित छन् । असोज २७ गते जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहलाई खोप लगाएर अभियानको औपचारिक सुरुवात गरिएको थियो ।

सरकारले पर्सा र बारामा हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर अभियान सञ्चालन गरेको हो । असोज २७ देखि कार्तिक २ गतेसम्म चल्ने अभियानमा १ वर्षमाथिका सबै उमेर समूहलाई खोप प्रदान गरिनेछ । अभियानले जिल्लाबासीहरुलाई हैजाबाट जोगाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply