कलैया,वीरगन्ज–कलैया सडकखण्ड अन्तर्गत परवानीपुर गाउँपालिका वडा नम्बर– ५ नौतन बहुअरीमा नहर मासेर सडक निर्माण गर्न थालेपछि सिँचाईको समस्या हुन सक्ने भन्दै स्थानीय किसानहरु चिन्तित भएका छन् ।

बहुअरीमा रामजानकी धर्मशालाको अगाडिबाट दक्षिणतर्फ पहिले नहर रहेको ठाउँमा नहर मासेर सडक बनाउन थालिएको हो । पछिल्ला वर्षमा उक्त क्षेत्रमा नयाँ बस्तीको विकाससंगै पक्की सडक विस्तार हुन थालेपछि अहिले किसानले सिँचाईमा प्रयोग गर्दै आएको नहर नै मासेर सडक निर्माण गर्न थालिएको हो ।

खेती योग्य जमिनमा सिँचाई गर्न समस्या पर्ने भन्दै किसानहरु चिन्तित भएका हुन् । गण्डक नहरको मूल शाखा मासेर सडक निर्माण गरिएको थियो । गण्डक नहरको ब्लक ७ को मेन सेकेन्डरी क्यानल–एमएससी) नौतन चोक (रामजानकी धर्मशाला) देखि दक्षिणतर्फको नहर क्रमशः मासिँदै छ ।

पछिल्लो पटक किसानको खेतमा पानी जाने नहर मासेर सडक बनाउन खोजेपछि नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगन्जले आपत्ति जनाएको छ । कार्यालयले सिँचाई विभाग, वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र सघन सहरी तथा भवन निर्माण आयोजनालाई समेत पत्राचार गरेर भत्काइएको नहर एवं संरचना अविलम्ब मर्मत गरिदिन आग्रह गरेको छ ।

नारायणी सिँचाई व्यवस्थापन कार्यालय प्रमुख प्रसुन मिश्रले पठाएको पत्रमा गहुँ बालीका लागि नहर सञ्चालन गर्नु पर्ने भएकाले अविलम्ब नहर एवं संरचनालाई मर्मत गराइदिन आग्रह गरिएको छ । तिहार अघिसम्म नहरको पानी लक्ष्मणवा क्षेत्रको ३ सय विघा जमिनमा सिँचाईका लागि प्रयोग गरिएको दावी सिँचाई कार्यालयको छ ।

कार्यालयसंग समन्वय नै नगरी नहरको संरचना भत्काएर सडक बनाउन खोजिएको कार्यालयका प्रमुख मिश्रले जानकारी दिनुभयो । नारायणी सिँचाई कार्यालयले वि.सं. २०३२ सालमा साढे ४ किलोमिटर लम्बाइ र १३ मिटर चौडाइको जग्गा अधिग्रहण गरेर नहर बनाएको उहाँले बताउनुभयो । नारायणी सिंचाइ कार्यालयका इन्जिनियर सुबोध कुशवाहले नहर पुरेर बाटो बनाउनु किसानको पेटमा लात हान्नु सरह भएको बताउनुभयो ।

वीरगन्ज महानगरपालिकाले ०७८ भदौ १० गते नहरको वास्तविक चौडाइ पहिचान गरेर १० मिटरको बाटो पहिचान गरी बाँकी नहरलाई छोड्नु भनी सघन सहरी अयाोजना कार्यालयलाई पत्राचार गरेको छ ।

आयोजनाले महानगरभित्रको सडक उसकै मापदण्ड अनुसार बनाउने गरेको छ । सडक बनाएर महानगरलाई नै हस्तान्तरण गरिन्छ । सडकको रेखदेख, मर्मत सम्भारको काम महानगरले नै गर्नुपर्ने हुन्छ । महानगरले सघन शहरी आयोजना पर्सालाई पठाएको पत्रको बोधार्थ सिँचाई व्यवस्थापन कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सघन सहरीले औपचारिक रुपमा समन्वय नगरेको सिँचाई कार्यालयको भनाइ छ ।

डिभिजन कार्यालयका प्रमुख मिश्र सिँचाईको जग्गामा कुनैपनि काम गर्न अन्य निकाय वा स्थानीय तहले समन्वय गर्नु पर्ने बताउहुन्छ । सघन सहरीका इन्जिनियर विवेक नेपालले सडक निर्माणको काम अहिले सुरु नभइसकेको बताउनुभयो ।

निर्माण कम्पनीले अहिलो नहर सफा मात्रै गरेको बताउँदै सडक नबनाउने हो भने काम रोक्न सकिने बताएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले भने सिँचाई कार्यालयले अनावश्यक बखेडा मात्रै झिकेको जिकीर गर्नुभयो । नहरको जग्गा अतिक्रमण हुँदा चुप बस्ने तर सडक बनाउँदा आपत्ति जनाउनुको तुक नभएको मेयर सरावगीको तर्क छ ।

Leave a Reply