बारा, २ कात्तिक । बारामा भएको दुःखद मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–१ डुंग्रे खोलास्थित पुलमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानाको नयाँ बस्ती निवासी २० वर्षीय साजन तामाङ र उक्त उपमहानगरपालिका–१४ निवासी २२ वर्षीय किरण तामाङ रहेका छन्।

प्रहरीका अनुसार पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल तीव्र गतिमा अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किँदा दुबै जना गम्भीर घाइते भएका थिए।

घाइते दुबै जनालाई तत्कालै उपचारका लागि बाराकै नौतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएको थियो। तर, चेकजाँचपछि चिकित्सकले उनीहरूलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घटनापछि प्रहरीले मोटरसाइकल बरामद गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना मोटरसाइकलको तीव्र गति र नियन्त्रण गुम्नुका कारण भएको हुनसक्ने अनुमान गरिएको छ।

स्थानीयहरूले भने पुलको रेलिङ कमजोर र सडक साँघुरो भएकाले त्यहाँ पटक–पटक दुर्घटना हुने गरेको बताएका छन्। प्रहरीले सडक सुरक्षाबारे सचेत रहन सबै सवारी चालकहरूलाई आग्रह गरेको छ।

Leave a Reply