कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने कार्य बुधबारबाट शुरु भएको छ ।पालिकालाई साक्षर घोषणा गर्नुपूर्व वडाहरुलाई साक्षर घोषणा गर्नुपर्ने हुँदा बुधवार ठोरी गाउँपालिकाको १, २ र ३ नम्बर वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार बिहान वडा नम्बर २ मा आयोजित साक्षार वडा घोषणा कार्यक्रममा वडा अध्यक्ष अमृत कृष्ण सापकोटाले वडा नम्बर २ लाई साक्षर वडा घोषणा गर्नुभयो ।त्यस्तै वडा नम्बर १ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष धनमान थापा मगरले वडा नम्बर १ लाई साक्षार वडा घोषणा गर्नुभएको थियो भने वडा नम्बर ३ मा आयोजित कार्यक्रममा वडा अध्यक्ष शम्भु खड्काले वडा नम्बर ३ लाई साक्षर वडा घोषणा गर्नुभएको हो ।
बिहीवार वडा नम्बर ४ र ५ को घोषणा हुने ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपाल जोशीले जानकारी दिनुभएको छ ।पालिकका पाँच वटा वडालाई साक्षार घोषणा गरे लगत्तै ठोरी गाउँपालिकालाई साक्षार घोषणा गर्ने तयारीमा पालिका लागेको जोसीले बताउनुभयो । हालसम्म मधेस प्रदेशका ६ वटा पालिकालाई यसअघि साक्षर घोषणा गरिएको र अब ठोरी साक्षार घोषणा भएसँगै यो संख्या सात पुग्ने छ ।पर्सा जिल्लामा साक्षर घोषणा हुने ठोरी पहिलो पालिका हुनेछ । साक्षर पालिका घोषणा गर्न ठोरी गाउँपालिका र आसमान नेपालको समन्वयमा प्रत्येक घरमा पुगेर सर्वेक्षण गरी पालिकालाई प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदन अनुसार ठोरीमा ९८ प्रतिशत मानिसहरु साक्षार पाइएको छ ।
सोही अनुसार ठोरीलाई साक्षर पालिका घोषणा गर्न लागिएको शिक्षा शाखा प्रमुख जोसीले बताउनुभयो । प्रत्येक वडाका अलगअलग कार्यक्रममा शिक्षाशाखा प्रमुख जोशीले साक्षार हुनका लागि आवश्यक पर्ने १२ वटा सूचीको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वीरगञ्जबाट प्रकाशित प्रतीक दैनिकका सम्पादक गोबिन्दप्रताप श्रेष्ठले साक्षर पालिका हुनुको फाइदा बारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा प्रत्येक वडाका जनप्रतिनिधिहरु, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक-अभिभावकसंघका पदाधिकारीहरु, प्रधानाध्यापकहरु, विद्यार्थीहरु र बुद्धिजीवीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।वडापालिका साक्षर घोषणा कार्यक्रमको सहजीकरण सन्चारकर्मी चिरञ्जीवी सापकोटाले गर्नुभएको थियो ।

















