निजगढ,स्थानीय विद्यालय र विभिन्न सङ्घसंस्था र व्यक्तिको नाउँमा वर्षौदेखि अतिक्रमणमा परेको निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपण हुनेभएको छ ।डिभिजन वन कार्यालय बाराले अतिक्रमण खाली गराएको २०.७८ हेक्टरमध्ये हाल १३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने तयारी भइरहेको निजगढ सब डिभिजन वन कार्यालयका रेञ्जर निरज पोखरेलले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बाराबाट निर्देशन आएसँगै पहिलो चरणमा भ्याकुलोडरको प्रयोग गरी केराबाली नष्ट पारेर पोल गाढेर तारले घेरबारा गर्ने काम शुरु भएको पनि पोखरेलले बताउनुभयो । सो जमिनमा वन प्रजातिका विरुवा रोपिने रेञ्जर पोखरेलले जानकारी दिनुभयो । अतिक्रमित क्षेत्रमा बाँकी जमिनमा पनि वृक्षारोपण गरिने उहाँको भनाई छ ।सशस्त्र व्दन्दको समयमा माओवादी कार्यकर्ताहरुले सामुदायिक वन फडानी गरी आवादी गर्ने तयारी गरेपछि स्थानीयले रोकेर संघसंस्थाको नाममा आम्दानी बाँध्ने गरी संरक्षण र केरालगायत विभिन्न बालीको खेती गर्दैआएका थिए । तर डेढ वर्षअघि डिभिजन वन कार्यालय बाराले वन फडानी र आवादी गरेको आरोपमा वन देवी सामुदायिक वन समूहका अध्यक्ष सिद्धबहादुर थापासहित स्थानीय ३५ जना विरुद्ध जिल्ला अदालत बारामा दर्ता गरेको मुद्दामा वन कार्यालयको पक्षमा फैसला भएपछि सो वन क्षेत्रको जमिनमा खेती गर्ने कार्य रोकिएको थियो ।
वन कार्यालयले स्थानीय विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पादाधिकारी, पूर्ववडा अध्यक्ष र सामाजिक कार्यकर्तासहित ५२ जनामाथि मुद्दा दर्ता गरेको भएपनि जिल्ला सरकारी वकीलको कार्यालयले भने ३५ जनामाथि मात्रै मुद्दा चलाएको थियो ।



















