वीरगञ्ज,वीरगञ्ज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन १७ गतेदेखि सुरु हुने भएको छ । भेट्रान्स सिटी क्लब वीरगञ्जले फाल्गुन १७ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, चर्च ब्वाईज युनाईटेड क्लब, संकटा क्लब, सलहेश युवा क्लब, मछिन्द्र फूटबल क्लब, वीरगन्ज युनाईटेड क्लब र भारत दिल्लीको गढवाल एफसीले सहभागिता जनाउनेछन् ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार नगद प्राप्त गर्नेछन् । अघिल्लो वर्ष कार्तिकमा सम्पन्न पहिलो संस्करणको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा २–० ले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।



















