काठमाण्डौं,रुसले युक्रेनमा आक्रमण शुरु गरेको पाँच सय दिन पूरा भएको छ । रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो ।आक्रमण शुरु भएको पाँच सयौँ दिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध शुरु भएको ठाउँ स्नेक आइल्याण्डको भ्रमण गर्नुभएको छ । युद्ध शुरु हुने बेला रुसी सेनाले आत्मसमर्पणका लागि दिएको आदेश नमानी युक्रेनी सेना अन्तिम अवस्थासम्म लडेका थिए । शुरुमा रुसले आक्रमण गरेको ब्लाक सी को यो टापु पछि युक्रेनले फिर्ता गरेको हो । एउटा भिडियो जारी गर्दै जेलेन्स्कीले स्नेक आइल्याण्डलाई विजयको ठाउँ भन्नुभएको छ । युक्रेन युद्धको ५ सय दिनमा नौ हजारभन्दा धेरै नागरिक मारिएका छन् । जसमध्ये ५ सय बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर ज्यान गुमाउनेको संख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ । समाचारसंस्था रोयटर्सका अनुसार युद्धमा रुसी सेनाका झण्डै ४३ हजार जना र युक्रेनी सेनाका झण्डै साढे १७ हजार जना मारिएका बताइए पनि यकिन तथ्याङ्क छैन । युद्धमा ज्यान गुमाएका र घाइते गरी साढे तीन लाख जनाभन्दा धेरै सैनिकहरु प्रभावित भएका छन् ।



















