बाराका राष्ट्रिय जंगलमा लगाइएको डढेलोका कारण ठूलो क्षति भयो । तर डढेलो भने अझै नियन्त्रणमा आएको छैन । बारामा मात्रै होइन पछिल्ला दिनहरूमा मुलुक डढेलोको चपेटामा परेको छ । यसले करोडौं रुपैयाँबराबरको धनमाल क्षति पु¥याएको छ । यति मात्रै होइन मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याइरहेको छ। तत्काल यसको प्रभाव नदेखिए पनि सुस्त रोगको रूपमा यसले स्वास्थ्यमा भयानक असर पारिरहेको छ । अपवादबाहेक मुलुकमा मुख्यगरी फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढी हुने गर्छन । यो समयमा वर्षा कम हुने भएकाले यस्तो घटना धेरै हुने गरेको हो ।

यतिखेर जमिन तथा जंगल क्षेत्रमा सुक्खापनको मात्रा बढ्दै गएको छ । बढ्दो सुक्खापनाले डढेलोको वास्तविक क्षति हुने समय अब आउँदैछ भन्ने संकेत गर्छ । हरेक वर्ष दोहोरिने डढेलोबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा होसियारी अपनाउनु जरुरी छ । केही दिनअघि एकै दिन दुई हजार पाँच सय ठाउँमा डढेलो लागेको तथ्यांक सार्वजनिक भएको थियो । यो निकै गम्भीर विषय हो । डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । अनौपचारिक तथ्यांकअनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ । मानवीय क्षति पनि उत्तिकै भइरहेको छ । कतिपय घटनामा प्रतक्ष्यरुपमा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ । वन्यजन्तु र रूख बिरुवामा परेको क्षति गणना गरिसाध्य छैन । वर्षौंदेखि हुर्काइएका वन, वहुमूल्य जैविक विविधता र सम्पदा पनि नासिएका छन । कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ ।

जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषि छन् । आफूलाई आपत् नपर्दासम्म नचेतिने मानवीय स्वभावले यस्ता घटना भएका छन् । त्यसैले यसको न्यूनीकरणमा पनि मानिस नै जागरुक हुनुपर्छ । पछिल्ला समय डढेलो लगाउने काममा संगठित गिरोह नै सक्रिय हुन थालेको अड्कलबाजी हुन थालेको छ । कमजोर कानुनी प्रवन्ध र फितलो कार्यान्वयनका कारण यस्तो समस्या आएको हो । डढेलो नियन्त्रण राज्यको प्राथमिकतामा परे पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विगतमा साधन, स्रोत र दक्ष जनशक्ति अभाव रहेकाले डढेलोलाई बेलैमा नियन्त्रण गर्न सकिँदैनथ्यो । अहिले परिस्थिति सहज भएको छ । भएका जनशक्ति र प्रविधिको भरपूर सदुपयोग गर्ने हो भने असम्भव छैन । डढेलो नियन्त्रणमा खटिने कर्मचारी तथा प्राविधिज्ञको सुरक्षामा ध्यान दिनुपर्छ ।

Leave a Reply