लेखक :- बालिष्टर सिंह प्रहरी निरीक्षक कार्यरत – ईलाका प्रहरी कार्यालय कोल्हवी बारा शै.यो. – एम.ए., बी.एल. सम्पर्क नं. ८५५०९०७७७

बालिष्टर सिंह

संयोगले बिभिन्न संघ संस्था र प्रहरी सम्मिलित जिल्ला बाराका केही गाँउपालिका,नगरपालिका, टोल तथा बिधालयहरु समेतमा “बाल विबाह” सम्बन्धमा आयोजित संवाद कार्यक्रममा सहभागी हुने मौका मिल्यो । शैक्षिक स्तर मध्यम रहेको यस जिल्लामा खास गरी गाँउमा बसोबास गर्ने अधिकांश जनसंख्यालाई बाल विबाह गर्नु गराउनु कसुर हो भन्ने चेतनाको अभाव रहेको पाईयो ।

 

 

 

 

 

“कानुनको अनभिज्ञ्ता क्षम्य हुदैन” भन्ने विधी शास्त्रको सर्वमान्य सिद्धान्त रहेता पनि राज्यको बरकरार कानुनको सम्बन्धमा ज्ञान तथा जानकारी गराउने कार्य राज्यकै दायित्व अन्तर्गत पर्ने हुँदा कानुनी व्यवस्था सम्बन्धमा ग्रामीण नागरिकहरुमा उचित जानकारी तथा प्रचार प्रसार जरुरी रहेको देखिन्छ । स्थानिय निकाय अन्तर्गत न्यायिक समिती रहेको तथा त्यसको अधिकार सम्बन्ध समेत अधिकतम नागरिकलाई जानकारी नरहेको देखिन्छ ।

 

 

 

 

 

 

मिति २०७५ साल भदौ १ गते देखि नेपालमा लागु भएको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विबाह सम्बन्धी कसुर अन्तर्गत बाल विबाह गर्न गराउन कसुर सम्बन्धमा विबाह गर्ने गराउने उमेर २० वर्ष भएको र कानुनले तोके भन्दा कम उमेरमा बाल बिवाह गर्ने गराउनेलाई ३ वर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना र बिवाह स्वत: बदर हुने सम्बन्धी दण्डको व्यवस्थाको सम्बन्धमा स्थानिय व्यक्तिहरुलाई सम्वादको क्रममा जानकारी गराउँदा निजहरुले २० वर्षको उमेर तराईमा बसोबास गर्नेको लागि व्यवहारिक हिसाबले कठिनाई रहेको विचारहरु व्यक्त गरेका हुन ।

 

 

 

 

 

निजहरुको अनुसार तराई समाजमा माध्यमिक तह तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु प्रेम गरी भाग्ने चलन बढी रहेको तर समाजले प्रेम बिवाहलाई धेरै हद सम्म स्वीकार गर्ने अवस्था नरही आ-आफ्नै जात-कुलमा बिवाह गर्ने (ईन्डोगामी) चलन रहेकोले गर्दा बिवाह गर्ने कानुनी उमेर २० वर्ष सम्म वाल बच्चाको बिवाह नगरी पर्खि रहदा २० वर्षको उमेर भन्दा पहिला नै केटा-केटी भाग्ने प्रचलन रहेकोले वैबाहिक उमेर २० वर्ष अव्यवहारिक रहेको तर्क गर्दछन ।

 

 

 

 

 

 

मुलुकी देवानी संहिता, २०७४ पारिवारिक कानुनको परिच्छेद – १ बिवाह सम्बन्धी व्यवस्थाको दफा ७३ मा बिवाह बदर गर्न सक्ने अवस्था अन्तर्गतको उपदफा (२) मा “बिवाहको परिणाम स्वरुप कुनै महिला गर्भवती भएमा वा निजबाट शिशु जन्मिएमा निजको मन्जुरी भएमा मात्र त्यस्ता बिवाह बदर हुन्छ नत्र जे जुन उमेरको केटा-केटी भए पनि बिवाह सदर भई कानुनी मान्यता पाउने देखिन्छ ।

 

 

 

 

 

 

त्यस्तै दफा ७४ मा जबरजस्ती करणीको कारण र हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसंग शारिरीक सम्पर्कबाट शिशु जन्मेको बाहेक अन्य कुनै पुरुषसंगको शारिरीक सम्पर्कबाट महिला गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बिच स्वत: बिवाह भएको मानिन्छ  र अपराध संहिता, २०७४ को परिच्छेद – १३ अन्तर्गत गर्भ संरक्षण विरुद्धको कसुर समेतमा महिलाको मन्जुरी बिना निजको गर्भपतन गराउने कार्यलाई दण्डनिय मानेकोबाट समेत महिलाले गर्भ संरक्षण गर्ने र शिशु जन्माउन पाउने अधिकार कानुनले संरक्षण गरेको देखिन्छ । देवानी संहितामा बिवाह सम्बन्धी भएको व्यवस्था हेर्दा समेत भागी बिवाह गरेर शिशु जन्माएमा महिला पुरुषलाई बिवाह गर्न कानुनी उमेरले बाधा गरेको देखिदैन ।

 

 

 

 

 

 

 

त्यसकारण बिवाह गर्न कानुनी उमेर भनि २० वर्ष व्यवस्था गरिएकोबाट २० वर्ष भन्दा कम उमेरमा भागी बिवाह गर्नेको संख्यामा बढोत्तरी हुने प्रष्ट देखिन्छ । अर्थात कानुनले गर्भ धारण गर्ने उमेर नतोकी बिवाह गर्ने उमेर मात्र तोकिनुबाट समेत गर्भधारण गरी गराई बिवाह सदर गराउन सकिने अवस्था रहेको हुदाँ बिवाह गर्ने उमेर र गर्भधारण गरी बच्चा जन्माउने उमेरको सम्बन्धमा वृहत छलफल आवश्यक रहेको देखिन्छ ।

 

 

 

 

 

 

 

एका तर्फ कानुनले महिलाको मन्जुरीले सिमित अवधीको गर्भपतन गर्न छुट दिएको र अर्को तर्फ बिवाह गर्ने उमेरलाई २० वर्ष बनाउँदा केटा-केटी बिच यौन सम्बन्धका घट्नामा बढोत्तरी आई कम उमेरमै गर्भपतन गराउनु पर्ने स्थिती सृर्जना भएको देखिन्छ । बच्चा गर्भपतन गराउनु पर्ने परिस्थिती सम्म आई पुगेकी बालिकाहरुको बिवाह प्रक्रियामा समस्या आउने भन्ने तर्क गर्दछन स्थानिय बासिहरु । बरु विबाह गर्ने उमेरलाई कम गरी गर्भपतन गराउने सम्बन्धमा केही हद सम्म रोक लगाउनु पर्ने सल्लाह व्यक्त गरेका छन । बिवाह गर्ने सम्बन्धमा पुरानै मुलुकी ऐनको व्यवस्था सान्दर्भिक रहेको समेत उनिहरुको ठम्म्याई रहेको पाईयो ।

 

 

 

 

 

 

बिवाह गर्ने उमेरको सम्बन्धमा अन्य मुलुकमा भएको व्यवस्था हेर्ने हो भने सामन्यतया चार प्रकारको उमेरलाई व्यवस्थित गरिएको देखिन्छ । पहिलो – केटा र केटी दुवैको एक निश्चित उमेर, दोस्रो – केटा र केटीको फरक फरक उमेर, तेस्रो कानुनले उमेर निश्चित गरे पनि परिवारको सहमति तथा अदालतको विश्वासमा कानुनले निश्चित गरेको उमेर भन्दा कम उमेर समेतमा बिवाह गर्न सक्ने प्रावधान रहेको देखिन्छ ।

 

 

 

 

 

 

केटा र केटी पक्षका परिवारलाई कानुनले तोकेको भन्दा कम उमेर भएका केटा-केटीहरु यौनिक एवं मैथुनिक रुपमा परिपक्व लागेको खण्डमा वा अदालतलाई ति केटा-केटीहरु शारिरीक एवं मानसिक रुपले दुरुस्त रहेको विश्वास लागेमा त्यस्ता केटा-केटीहरु बिच कानुनले तोकेको भन्दा कम उमेरमा बिवाह सम्पन्न हुन सक्छ । उक्त बिवाह कानुनी रुपमा वैध मानिन्छ । चौथो परिवार (आमा-बावु) को मन्जुरीले  र परिवारको मन्जुरी बेगर बिवाह गर्न निश्चित उमेर ।

 

 

 

 

 

 

केटा र केटीको बिवाह गर्ने उमेर १८ वर्ष पुरा भएको हुनु पर्ने कानुनी व्यवस्था भएको मुलुक मध्ये संयुक्त राज्य अमेरिका (१८ राज्यमा तर नेब्रास्का राज्यमा १९ वर्ष र मिसीसिप्पी राज्यमा २१ वर्ष उमेर रहेको), मोरक्को, नामिभिया, नेदरल्यान्ड, ओमान, पानामा, पेरु, पोल्यान्ड, माल्दिभ्स, पोर्चुगल, रोमानिया, रसिया, सिंगापुर, साउथ अमेरिका, साउथ सुडान र भुटान आदी देशहरु रहेका छन । त्यस्तै केटा र केटीको फरक उमेरलाई कानुनी व्यवस्थाको रुपमा केटाको उमेर १८ वर्ष र केटीको उमेर १६ वर्ष निश्चित गरेका मुलुकहरुमा माईक्रोनेसिया, मोल्डाभा, नैरु, पाकिस्तान, कतार, अफगानिस्तान प्रमुख रहेका छन ।

 

 

 

 

 

 

 

 

 

त्यस्तै कानुनले केटा र केटीको उमेर निश्चित गरे पनि परिवारको सहमति र अदालतलाई निज केटा-केटीहरु यौनिक एवं मैथुनिक रुपमा परिपक्क तथा सन्तानोत्पतिको लागि सबल तथा मानसिक एवं शारिरीक रुपमा तन्दुरुस्त रहेका भनि विश्वास लागि कानुनले निश्चित गरेको उमेर भन्दा कम उमेरमा बिवाह गर्न सकिने कानुनी प्रावधान अवलम्बन गरेका देशहरु जसले कानुनी उमेर १८ भए पनि सहमतिमा कम उमेरमै बिवाह गर्न गराउन कानुनले छुट दिएको देखिन्छ । ति देशहरु मोनाको, मंगोलिया, मेनटेङ्ग्रो, बंगलादेश, श्रीलंका प्रमुख रहेका छन ।

 

 

 

 

 

 

 

 

त्यस्तै परिवारको मन्जुरी तथा बेमन्जुरीमा कानुनले निश्चित गरेको उमेरलाई अवलम्बन गर्ने राष्ट्रहरु जस्तै ईङ्गल्याण्डले मन्जुरी बेगर २१ वर्ष, परिवारको मन्जुरीमा १६ वर्ष मोजाम्विकले मन्जुरी बेगर १८ वर्ष परिवारको मन्जुरीमा १६ वर्ष, न्युजिल्याण्डले मन्जुरी बेगर २० वर्ष मन्जुरीमा १६ वर्ष उमेर पुगेको, नाईजेरले मन्जुरी बेगर १६ वर्ष परिवारको मन्जुरीमा १२ वर्ष वा सो भन्दा कम उमेर पनि बिबाह हुने, नाईजेरीयाले मन्जुरी बेगर १८ वर्ष परिवारको मन्जुरीमा १५ वर्ष र सो भन्दा कम उमेर, नर्वेले मन्जुरी बेगर १८ वर्ष र परिवारको मन्जुरीमा १६ वर्षको उमेर, पप्पुवा न्यू गिनियाले मन्जुरी बेगर १८ वर्ष र परिवारको मन्जुरीमा केटा १६ वर्षको र केटी १४ वर्षको उमेर पुगेकोलाई कानुनी रुपमा व्यवस्था गरेको देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

अन्य मुलुकहरु जस्तो साउदी अरेबियामा यौनिक एवं मैथुनिक रुपमा परिपक्क भएको उमेर हुनु पर्ने तर केटीको उमेर चाहि १० वर्ष भन्दा कम नहुने भनि व्यवस्था गरेको देखिन्छ । रुवान्डामा बिवाह गर्ने उमेर २१ वर्ष तोकेको, सेनेगलले केटीको उमेर १६ वर्ष हुनु पर्ने, सर्वियामा दुबैको १६ वर्ष उमेर पुगेको, भारतमा केटाको उमेर २१ वर्ष र केटीको उमेर १८ वर्ष हुनु पर्ने तर मुस्लिम कानुनले परिपक्क उमेरमा बिवाह हुन सक्ने व्यवस्था अवलम्बन गरेको देखिन्छ । त्यस्तै फिलिपिन्समा केटा र केटी दुबैको १८ वर्ष उमेर पुगेको हुनु पर्ने तर त्यहाँको मुस्लिम कानुनले केटाको उमेर १५ वर्ष तर केटी परिपक्व हुनु पर्ने व्यवस्था रहेको देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

त्यस्तै बंगलादेशमा केटा र केटी दुबैको १८ वर्ष उमेर पुगेको हुनु पर्ने तर परिस्थिती अनुसार यो उमेर कम हुन सक्ने समेत व्यवस्था गरेको देखिन्छ । संसारमै बिवाहको निम्ति सबै भन्दा बढी उमेरको व्यवस्था गरेको राष्ट्र चीन देखिन्छ । जहाँ केटाको उमेर २२ वर्ष र केटीको उमेर २० वर्ष पुरा भएको हुनु पर्ने । चीनले ढिलो बिवाह र ढिलो सन्तानोत्पादनलाई प्रोत्साहन गरेको देखिन्छ । यसले जनसंख्या नियन्त्रणमा पनि भुमिका निर्वाह गरेको हुन्छ (श्रोत:- डिपार्टमेन्ट अफ स्टेट कन्ट्री रिपोर्ट अन हुमेन राईटस् २०१५) ।

 

 

 

 

 

 

संसारका विभिन्न मुलुकमा वैवाहिक उमेर सम्बन्धी व्यवस्था हेर्दा केटीको उमेर २० वर्ष भन्दा कम उमेरलाई अधिकतम राष्ट्रले आफ्नो बिवाह सम्बन्धि कानुनमा व्यवस्था गरेको देखिन्छ । हाम्रो समाज हिन्दु दर्शन, चलन चल्ती तथा रिवाजबाट प्रभावित भएकोले गर्दा बिवाह संस्कारमा हिन्दु दर्शनको बढी प्रभाव रहेको पाईन्छ । हिन्दु दर्शनका जग मानिने मनु-स्मृतिमा बिवाह गर्ने उमेरलाई यति उति भनि निश्चित नगरे पनि केटा केटी यौनिक रुपमा परिपक्व भएको अवस्थामा बिवाह गर्न हुन्छ भनि उल्लेख भएको पाईन्छ । कतिपय देशहरु आफ्नो बिवाह सम्बन्धि कानुनमा उमेर व्यवस्था गर्दाको पछाडी केटा र केटीहरुको उमेर परिपक्व अवस्था तथा शारिरीक रुपमा बढी सुन्दर हुने अवस्थाको उमेरलाई आधार मानी बिवाह गर्ने उमेर निर्धारण गरेको पाईन्छ ।

 

 

 

 

 

 

 

पुरानो मुलुकी ऐनको बिवाहवारीको महलमा समेत बिवाह गर्ने उमेर परिवारको मन्जुरीले १८ वर्ष र बेमन्जुरीले २० वर्ष तोकिएता पनि बाल बिवाह गर्ने चलन अधिक नै थियो । युनिसेफ सर्वे, २००२ ले नेपालमा १५ वर्ष देखी १९ वर्ष उमेरमा बिवाह गर्नेको संख्या २४.५ प्रतिशत रहेको छ । नेपालमा लागु भएको फौजदारी संहिता, २०७४ मा भएको बिवाह गर्ने गराउने उमेर २० वर्ष विभिन्न क्षेत्र तथा समाजमा लागु गरिदाको कठिनाईलाई वृहत छलफल, अन्तर्क्रिया तथा अध्ययनको विषय बनाउन आवश्यक रहेको देखिन्छ ।

( लेखक प्रहरी निरिक्षक हुन् । हाल  ईलाका प्रहरी कार्यालय कोल्हवी बारामा कार्यरत रहेका छन् । उहाँकाे शैक्षिक याेग्यता एम.ए., बी.एल. सम्म रहेकाे छ । साथै उहाँकाे सम्पर्क नं. ९८५५०९०७७७ रहेकाे छ । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here