निजगढ,विमानस्थल निर्माणको माग राखेर निजगढ सरोकार समितिको आह्वानमा निजगढस्थित पूर्वपश्चिम लोकमार्गमा हुदै आएको चक्काजम र धर्ना बिहीवारबाट स्थगित भएको छ । निजगढस्थित शहीद चोकमा हुदै आएको अनशन कार्यक्रम भने जारी राखिने समितिले जनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सर्वाजनिक सरोकार समितिले आयोजना गरको कार्यक्रममा उपस्थित भएर सडक अवरुद्ध पार्ने आन्दोलनको कार्यक्रम संचालन नगर्न आग्रह गरेपछि समितिले राजमार्ग बन्दको कार्यक्रम फिर्ता लिएको हो ।

समितिले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुख्यमन्त्रीसंग साक्षतकार’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री राउत बिहिवार बिहान निजगढ आउनुभएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले निजगढ विमानस्थल निर्माणको लागि प्रदेश सरकारको समर्थन रहेको भन्दै आन्दोलनको कार्यक्रम स्थगित गरेर अघि बढन आग्रह गर्नुभयो । ‘निजगढबासी जनताको आन्दोलनमा प्रदेश सरकारको पूर्णसमर्थन र साथ छ, उहाँले भन्नुभयो, सर्वोच्चको पूर्णपाठ नआउँदासम्म सडक बन्द गर्ने आन्दोलनको कार्यक्रमलाई स्थगित गर्दा राम्रो हुन्छ ।’ उहाँले सर्वोच्चको पूर्णपाठ आउने क्रममा सच्चिएर आउने र निजगढमा विमानस्थल बन्ने पनि बताउनुभयो ।

मुख्यमन्त्री राउतले निजगढ विमानस्थलको विकल्प नभएको र कुनै पनि हालतमा बन्नुपर्ने बताउनुभयो । यो आयोजना निजगढको मात्रै नभएर मधेस प्रदेश र राष्ट्रकै महत्वपूर्ण र गौरवको आयोजना भएको बताउनुभयो । उहाँले प्रमुख दलका शीर्ष नेताहरु निजगढ विमानस्थल निर्माणमा इमान्दार नभएको आरोप पनि लगाउनुभयो । ‘योभन्दा पछि निर्माण कार्य सुरु भएको भैरहवा र पोखरा विमानस्थल बनिसक्यो, उहाँले भन्नुभयो, तर निजगढ विमानस्थल अझै किन अन्यौलमा छ ?’ मुख्यमन्त्री राउतले संघीय सरकारले जुन तदारुकताका साथ विमानस्थल निर्माणमा काम गर्नुपर्ने हो त्यो कार्य अहिले पनि भएको छैन भन्नुभयो । प्रमुख दलका नेताहरुको ओठेभक्तिका कुराले मात्रै आयोजना निर्माण हुन नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले वनजंगल प्रदेश सरकारको अधिकार क्षेत्रभित्र रहेको भन्दै विमानस्थल निर्माणको लागि अवश्यक पर्ने रुख कटानी गर्न प्रदेश सरकारले कुनै अवरोध नगर्ने पनि सुनाउनुभयो । मधेस प्रदेशलाई विकासित, सम्बृद र विश्वसंग जोडन निजगढ विमानस्थल आवश्यक भएको उहाँको भनाइ थियो । प्राविधिक र आर्थिक दृष्टिले पनि निजगढ विमानस्थलको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।

निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम बारा क्षेत्र नम्बर १ क का प्रदेश सभासदस्य त्रिलोकी चौधरीले निजगढका जनताले गरेको आन्दोलन जायज भएको भन्दै आवश्यक परेको खण्डमा आफू आन्दोलनको नेतृत्व लिन तयार रहेको पनि बताउनुभयो । कार्यक्रमको संचालन युवा तथा विद्यार्थी स्वतन्त्र सरोकार समितिका संयोजक जयराम कुवरले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here