काठमाण्डौं,संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमवार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । सो प्रतिवेदनमा निगजढ विमानस्थलबारे ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्न भनिएको छ ।
समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्य÷प्रक्रिया अघि बढाउन समेत समितिले भनेको छ । समितिले यो विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन पछि तयारी पारेको प्रतिवेदनमा आधारित रहेर सरोकारवाला निकायबाट आएका सुझाव समेत कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसलापछि आयोजनाको भविष्यबारे अन्योल रहेका बेला समितिले यस्तो प्रतिवेदन पारित गरेको हो । यद्दपि सर्वोच्चको फैसलाको पूर्ण पाठ भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।
आन्दोलन जारी
निजगढ,बाराको टाँगियावस्तिमा प्रस्तावित अन्तर्राष्टिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनसन सोमवार आठौं दिन पनि जारी रहेको छ । सोमवार साँझ ५ बजेबाट सुरु भएको अनसनमा निजगढका महिला अगुवाहरुमात्रै सहभागी बनेका छन । अनसनमा सावित्री भारती, सिताकुमार मैनाली, सुनमाया लोप्चन, रामकुमारी गोले, लक्ष्मी चौलागाई लम्साल, गिता चौलागाई, सन्जु सुनार, सिताकुमार गुरुङ्गच्याङ्ग मगर, कमला थापा मगर र चिनीमाया थिङ्ग सहभागी हुनुहुन्छ ।
यसअघि आइतवार साँझबाट राजन ढुङ्गाना, विष्णुप्रसाद बजगाई, प्रसान्त बस्नेत, विष्णु गौतम, भानु गौतम, बलराम प्याकुरेल, विनय भण्डारी, गजेन्द्र कुशवाहा, देवराज कुइकेल र विनोद थापा २४ घण्टा अनसनमा बस्नु भएको थियो ।
त्यसैगरी पूर्वपश्चिम लोकमार्गको सहिद चोकमा सरोकार समितिको आह्वानमा सोमवार पनि ३ घण्टासम्म चक्काजाम र धर्ना गरिएको छ । राजमार्गको शहिद चोकमा दिउसो ३ बजेदेखि साँझ ५ बजेसम्म धर्ना र चक्काजाम भएको हो । विमानस्थल निर्माण नगर्ने भनेर सर्वोच्च अदालतले गरेको निर्णयपछि सरोकार समितिले १७ दिन अघिदेखि निजगढस्थित राजमार्गको शहिद चोकमा धर्ना र चक्काजाम गर्दै आएको छ ।
यसैबीच सरोकार समितिले सोमवारबाट आन्दोलनको थप कार्यक्रम सार्वजनिक गरेको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विमानस्थल निर्माणको लागि मधेस प्रदेशका मुख्य मन्त्री लालबाबु राउतसहित अन्य मन्त्री र प्रदेश सभा सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने तथा प्रमुख दलका केन्द्रीय स्तरका नेता र संघीय मन्त्रीहरुलाई निजगढ बोलाएर विमानस्थल निमार्ण बारेमा ऐक्यवद्धता जाहेर गर्न लगाउने निर्णय गरेको हो ।
हाल निजगढमा हुदै आएको अनसन र चक्काजामको आन्दोलनलाई पनि यथावत राख्ने बैठकले निर्णय गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।