निजगढ,निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा आइतवार साँझ निजगढमा स्थानीय युवाहरुले मशाल जुलुस प्रदर्शन गरेका छन ।

स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरुले निजगढस्थित पूर्वपश्चिम लोकमार्गमा मशाल जुलुस प्रदर्शन गरेका हुन । निजगढ ब्याङ्कुट अगाडिबाट निकालिएको मशाल जुलुस इलाका प्रहरी कार्यालय अगाडि पुगरे फर्किएपछि शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले विदेशीहरुको इशारामा नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्न नदिने योजनामा अदालतको फैसला आएको बताउनुभयो । उहाँले अदालतको फैसला विकास विरोधी र देश तथा जनताको चाहना विपरीत भएको भन्दै यसको पुनरावलोकन हुनु पर्ने माग गर्नुभयो ।

त्यसैगरी कोण सभामा बोल्दै निजगढ सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले अदातललाई विकास निर्माणको आयोजना रोक्ने अधिकार नभएको बताउनुभयो । संविधानको मर्म र भावना विपरित आएको यो फैसलाको जनताले सडक आन्दोलनमार्फत प्रतिकार गर्नुको विकल्प नभएको बताउनुभयो ।

यसअघि आइतवार बिहान युवा तथा विद्यार्थीहरुले शहिद चोकमा एक घण्टा धर्ना र चक्का जाम गरेका थिए । चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए । धर्नामा सहभागीहरुले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । कार्यक्रममा सहभागीहरुले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने सरोकार मन्चका श्यामकृष्ण घिमिरेले बताउनुभयो । समितिले सोमवारबाट राजमार्गमा जारी धर्ना र चक्काजामको कार्यक्रमको अवधि थप बढाउने जनाएको छ । युवाहरुले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म चक्काजाम गरिने बताएका छन ।

त्यसैगरी निजगढ सरोकार समितिको आइतवार बसेको बैठकले सर्वोच्चको निर्णय पुनरावलोकन नभए आगामी १८ गते बुधवार निजगढ बजारमा विरोध प्रदर्शन गर्ने भएको छ । समितिका संयोजक एकबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विमानस्थलन निर्माण विरुद्ध सर्वोच्च अदलतको फैसला पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

उता, काठमाण्डौमा बस्दै आएका निजगढबासीले आइतवार दिउसो पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । निजगढ विकासप्रेमी समुहको नाममा काठमाण्डौंमा विभिन्न पेसा र व्यवसाय गर्दै आएकाहरुले अदालतको निर्णयविरुद्ध प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागीहरुले वातावरणको नाममा विकास रोक्न पाइदैन, कार्यपालिकाको काममा न्यापालिकाको हस्तक्षेप बन्द गर, सर्वोच्च अदालतको दर्भाग्यपूर्ण फैसला पुर्नविचार गरियोसलगायतका नारा लेखिएका प्लेकार्ड बोकेको थिए । सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी स्वरुप आफूहरुले प्रदर्शन गरेको हाल काठमाण्डौं बस्दै आउनुभएका निजगढ ९ का दामोदर मैनालीले बताउनुभयो । उहाँले पनि अदालतले फैसला नसच्चाए थप आन्दोलन गर्ने घोषणा पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here