नरेश गुप्ता,
बरियारपुर,सिम्रौनगढ नगर कार्यपालिका सद्स्य पदको लागि हुने भनिएको निर्वाचन प्रक्रिया अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि स्थगित गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय सिम्रौनगढले बिहिवार सूचना सार्वजनिक गर्दै कार्यपालिका सदस्यको लागि दलित, अल्पसंख्यक र महिला समुदायबाट चयन गरिने सदस्यको निर्वाचन स्थगित गरेको हो ।
नगर कार्यपालिका सदस्य चयनको लागि गत जेठ १० सूचना प्रकाशित गरेर निर्वाचन कार्यालयले बिहीवार २ बजेको लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनदयाल मुखिया लगायत ३६ जनाले पद तथा गोपनियताको शपथग्रहण, पत्र प्रमाणित तथा कार्यपालिका सदस्य निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका स्थगित गरेको हो ।
कांग्रेशबाट नगरपरिषदमा निर्वाचित सदस्यहरुले कार्यपालिका सदस्यहरुको निर्वाचन रोक्न माग गर्दै सिम्रौनगढ नगरपालिका कार्यालयअगाडि बिहीवार दिउसो नारा, जुलुस र होहल्लासमेत गरेका थिए ।
यसैबीच सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेशबाट नगर सभामा निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुख किशोरीप्रसाद साहले गराउनुभएको सपथग्रहण बहिष्कार गरेका छन ।
कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुले लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर प्रमुखमा निर्वाचित हुनुभएका नगरप्रमुख साहले बुधवार गराउनुभएको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम बहिष्कार गरेका हुन । सिम्रौनगढ नगरपालिकाको सभा हलमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर प्रमुख साहबाट सपथ नलिने अडान लिदै बहिष्कार गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले वडा अध्यक्ष र सदस्यहरुले नगरप्रमुखबाट नै सपथग्रहण गर्ने कानुनी ब्यवस्था रहेको जानकारी गराउँदा पनि उनीहरुले सपथ लिन इन्कार गरेका हुन । कांग्रेशबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगर प्रमुख साहले अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मात्रै राखेर सपथ गराउनुभएको थियो । सपथग्रहण नगर्ने जनप्रतिनिधिहरुले पदभार पनि ग्रहण गर्न नसक्ने भन्दै नगर प्रमुख साहले निर्वाचन अधिकृत गुप्तालाई बुधवार नै लिखित जानकारी गराउनुभएको थियो । निर्वाचन अधिकृतबाट मात्रै शपथ लिने भन्दै कांग्रेशबाट निर्वाचित जनप्रतिनिधिहरुले शपथ कार्यक्रम बहिष्कार गरेका हुन ।
निर्वाचन आयोगको नियमावलीमा नगर सभा वा गाउँ सभाको कुनै पदमा निर्वाचित भएको ब्यक्तिले दफा ३८ क बमोजिम सो पदको सपथ नलिएसम्म नगरकार्यपालिकाको महिला, दलित, अल्पसंख्यक सद्स्यहरुको निर्वाचनमा वा जिल्ला समन्वय समितिको निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ । तर सिम्रौनगढमा कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले शपथ नलिएकाले हाल आएर कार्यपालिका सद्स्यहरुको निर्वाचन प्रक्रियालाई पनि अवरुद्ध पार्न खोजिएको नगर प्रमुख साहले जानकारी दिनुभयो ।
११ वटा वडा रहेको सिम्रौनगढमा नेपाली कांग्रेशबाट ८ वडा अध्यक्ष, लोसपाबाट ३ र नेकपा एकिकृत समाजवादीबाट १ जना वडा अध्यक्षमा निर्वाचित भएका छन । नगरपालिकाको उपमेयरमा पनि लोसपा विजयी भएको छ ।