वीरगन्ज,वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आगामी नयाँ शैक्षिक सत्रदेखि भोजपुरी भाषामा पठनपाठन सुरु गर्ने तयारी गरेको छ ।

नगर प्रमुख विजयकुमार सरावगीले महानगरमा रहेका सामुदायिक विद्यालयहरुमा आगामी नयाँ शैक्षिक सत्रदेखि नै भोजपुरी भाषामा पठनपाठन सुरु गर्ने तयारी भइरहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भोजपुरी प्रतिष्ठान वीरगन्जले सोमवार आयोजना गरेको बहुभाषिक कवि गोष्ठी, पुस्तक विमोचन एंव सम्मान समारोहमा बोल्दै नगर प्रमुख सरावगीले विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि नै भोजपुरी भाषाको पठनपाठन सुरु गरिने जानकारी दिनुभएको हो ।

यसका लागि महानगरको शैक्षिक प्रशासन महाशाखाले तयारी गरिरहेको उहाँले बताउनुभयो । नगर प्रमुख सरावगीले वीरगन्जमा स्थापना गरिएको भोजपुरी प्रतिष्ठानको आफनै भवन निर्माण पनि गर्न थालिएको बताउनुभयो । प्रतिष्ठानको भवन निर्माणका लागि टेण्डर प्रकृया सम्पन्न भइसकेको र निर्माणको काम छिट्टै शुरु हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठान सन्चालनका लागि आवश्यक आयश्रोतको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले भोजपुरी भाषामा केहि समय यता भित्रिएका विकृतिहरु हटाउन सबै जना लाग्नु पर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विकासमा योगदान दिएका विभिन्न व्याक्तित्वहरुलाई प्रतिष्ठानले दोशल्ला र कदरपत्रले सम्मानीत गरेको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर, साहित्यकार मुकुन्द आचार्य, वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here