नरेश गुप्ता

बरियारपुर,भारतीय नम्बरको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर– ५ का ५५ वर्षीय शितल साह र ४० वर्षीय नरेश साह (दाजुभाइ) को बुधवार राति मृत्यु भएको छ ।

कलैया–वीरगन्ज सडक खण्डको कलैया–५ स्थित विजय आयल स्टोर अगाडि बुधवार राति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगन्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दाजुभाइ घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको थियो ।

नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल लगिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । घटनास्थलबाट करिब १ सय मिटर अगाडि स्कारपियो अनियन्त्रित भएर मोटरसाइकललाई ठक्कर दिएपछि सडकमा पल्टिएको थियो ।

जिल्लाको सुवर्ण गाउँपालिका सन्तगन्जमा बिहेको छेकामा सहभागी बनेर रक्सौलतर्फ फर्किने क्रममा कलैया स्कारपियो दुर्घटनामा परेको थियो । चालक भारत बिहार रक्सौल निवासी वर्ष २४ का अरमान गिरीसहित स्कार्पियोमा सवार वर्ष ४० का बब्लु गिरी, वर्ष २५ का गौरव गिरी, वर्ष २३ का कौशिक गिरी, वर्ष २४ का सुरेन्द्र यादवलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । स्कार्पियोमा क्षेति पुगेको भएपनि गाडीमा सवार सबैजना सकुशल रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here