वीरगन्ज,तेस्रो लहरको कोरोना भाइरस संक्रमणबाट बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ निवासी एक पुरुषाको मृत्यु भएको छ ।

वीरगन्जस्थति नारायणी अस्पतालमा कोरोनाबाट संक्रमित भएर बिहीवार राती भर्ना भएका ५० वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार राती साढे ८ बजेको समयमा एउटा निजी अस्पतालबाट रिफरल लिएर नारायणीमा भर्ना हुन् आएका पुरुषको राती पौने १२ बजेको उपचार गर्दाको क्रममा मृत्यु भएको हो ।

उनले कोभिडविरुद्धको खोपको एउटा पनि डोज नलिएको डा. सिंहले जानकारी दिनुभयो । माघ ६ गते एन्टीजेन पोजेटिभ भएका पुरुष गम्भीर किसिमको कोभिड निमोनियाको लक्षणसहित नारायणी अस्पतालमा भर्ना भएका थिए । डा. सिंहका अनुसार भर्ना गर्दा उनको शरीरमा ग्लुकोजको मात्रा धेरै तल झरिसकेको थियो जसलाई मेडिकल भाषामा हाइपोग्लाइसेमिया भनिन्छ । यद्दपि उनको मृत्यु कुन भेरिएन्टको कोरोनाबाट भएको पुष्टि हुन् बाँकी रहेको छ ।

यसैबीच नारायणी अस्पतालमा शुक्रबार गरिएको पिसिआर परिक्षणमा बाराका ७ जनासहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले उपलब्ध गराएको जानकारीका अनुसार बारा विभिन्न स्थानबाट ल्याइएका र आफै आएका ७९ जनाको थ्रोट स्वाब परीक्षण गर्दा १३ महिलासहित ३८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा ९ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धसम्म रहेको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो ।

थपिएका संक्रमितहरुमध्ये पर्साका २४, बाराका ७, सर्लाहीका ३, लालातिपुरका २, काठमाडौँ र कपिलवस्तुका १÷१ जना रहेका छन् ।

त्यसैगरी सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर– १९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रवार बिहान ११ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा मुटुसम्बन्धी समस्या थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here