तीन वर्षअघि नै सरकारले विद्युतीय सवारी (युग) को घोषणा गरेपनि कार्यान्वयनतिर भने फिटिक्कै ध्यान दिएन । पेट्रोलियम पदार्थमा बर्सेनी बाहिरिने गरेको अर्बाैंको रकम जोगाउन र सहरको स्वच्छता कायम राख्न पनि सरकारी संयन्त्रबाटै विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता छ । अर्कोतर्फ वायु प्रदूषण न्यूनीकरण गर्न र स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गर्न पनि विद्युतीय सवारी प्रयोग गर्नुपर्ने देखिएको हो । काठमाडौंको वायु प्रदूषणको मुख्य कारक नै जथाभावी भित्र्याएर अनियन्त्रित रुपमा संचालनमा आएका निजी र सार्वजनिक सवारीसाधन हुन् ।

डिजेल–पेट्रोलबाट चल्ने गाडीको धुवाँ, धुलो र मैलोले काठमाडौंको वायु प्रदूषण मानव स्वास्थ्यका लागि दिनप्रतिदिन हानिकारक बन्दै गएको छ । प्रदूषणले नाक छोप्ने कि, आँखा छोप्ने कि वा मुख नै छोप्ने भन्ने बैराग लाग्दो अवस्था देखा पर्दैछ । अझ पुराना÷थोत्रा गाडीले फ्याँक्ने धुवाँको मुस्लोले सडकमा दिउँसै कालो पर्दा लागेर दुर्घटनासमेत हुने गरेका छन् । देशकै राजधानी सवारीसाधनको धुवाँ र धुलोले कुरूप बन्दै गएको छ ।

अर्कोतर्फ, हरेक वर्ष दुई खर्बभन्दा बढी रकम पेट्रोल र डिजेल खरिदमा मात्रै बिदेसिने गरेको छ । गत वर्ष नेपाल आयल निगमले १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो । यसमा ढुवानी र चुहावटको खर्च जोड नै बाँकी छ । यो रकम बर्सेनी बढ्दै गएको छ । नाकाबन्दी र अरू बेलामा छिमेकी भारतले ‘आनाकानी’ गर्दा पेट्रोलियम पदार्थको अभावमा देश र जनताले भोग्ने दुःख र सास्तीका कुराको भने वर्णन गरेर साध्य नै छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here