नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सद्स्य एवं शहरी बिकास पूर्वमन्त्री प्रभु साहले देशमा भएका सबै परिवर्तनमा बारा जिल्लाको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।

बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीमा नेकपा एमालेको प्रथम नगर अधिवेशनको उद्धाटन गर्दै पूर्वमन्त्री साहले अब विकासको दृष्टिकोणले बारा जिल्लालाई पहिलो स्थानमा पुर्याउनको लागि स्थानीय एमाले कार्यकर्ताहरुले थप भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

ऐतिहासिक नगरी सिम्रौनगढ बिगतमा राजारजौटा भएको ठाउँ अहिले गरिबी, अशिक्षा कायम भएको र अत्यन्तै पिछडिएको क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रकोे समृद्धि र संरक्षणको लागि अब ध्यानाकर्षण हुनुपर्ने उहाँले बताउनुभयो । प्रदेश नम्बर २ को राजधानी जनकपुर पनि विगतमा ऋषिमुनी र विद्धानहरुको भूमि रहेको तर अहिले बदनाम प्रदेशको रुपमा चिनिन्दै आएकोले यस्तो क्षेत्रलाई भ्रष्टाचार मुक्त क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पूर्वमन्त्री साहले एक अर्को प्रसङ्गमा अहिलेको राजनीति एउटा पेसा र व्यवसायको रुपमा परिवर्तन भएको र सत्ताको रस चुस्न, दोहन गर्न र देशमा लुटतन्त्र मच्याउनमात्र स्थानीय, प्रदेश तथा संघीय सरकार लागि परेको आरोप पनि लगाउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सद्स्य अच्युत मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाको गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको र देशमा महङ्गी बढाएको आरोप लगाउनुभयो ।

पिपरपाती विद्यालयका छात्रछात्राहरुले उठाएका जायज मागको नगरपालिकाका जनप्रतिनिधिहरुले शंवोधन नगरी उल्दै प्रहरी लगाएर दमन गरिएको घटनाप्रति नेता मैनालीले भ्रत्सना गर्नुभयो । विद्यार्थीमाथि भएको प्रहरी दमन लोकतन्त्रको उपहास भएको उहाँको भनाइ थियो ।

नेकपा एमाले पचरौता नगर कमिटीका अध्यक्ष जलान्धर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज बलवीर चौधरी, बारा जिल्ला सहईन्चार्ज महमद समीर, संविधानसभा सद्स्य जयप्रकाश यादव, नेकपा एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहालगायतले नगर अधिवेशनको सफलताको कामना गर्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका युवाहरूलाई पूर्वमन्त्री साहले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन सुरेश यादवले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here