वीरगन्ज,बाराको अमलेखगंजका बस्तीहरुमा पानीको अभाव देखिएको छ । करिब १० हजार जनसंख्या भएको चुरेको फेदमै रहेको साविकको अमलेखगन्ज गाविसका त्यहाँका बासिन्दा करीब ३ दशकंदेखि खोलाकै धमिलो पानी पिउन बाध्य छन् ।

कतिपय वस्तिमा खोलाको पानी समेत पर्याप्त पुग्न सकेको छैन । चैतदेखि जेष्ठ महिनासम्म खडेरी लाग्ने र असारदेखि भाद्र असोजसम्म वर्षा हने खोलामा बाढी आउने हुँदा खोलामा पनि खानेपानी लिन जान सक्ने अवस्था नरहेको स्थाीयबासीको भनाइ छ ।

चुरेको फेदमै पर्ने अमलेखगंजमा भूमिगत पानीको मूल नभएकोले खानेपानीको अभाव हुने गरेकोे हो । खानेपानीको अभावले स्थानीय महिलाहरुले यसको प्रतक्ष्य मारमा परेका छन । गाउँमा खानेपानीको जोहो गर्ने जिम्मा महिलाहरुको भएकोले यसबाट महिलाहरु प्रभावित बनेका हुन ।

पानीको मुहान सुक्दा विगत केही वर्षदेखि त्यहाँका महिलाहरु घर धन्दा गर्न र खानेपानीका लागि घण्टौसम्म हिडेर खोलाबाट पानी ल्याउन बाध्य छन् । जसका कारण महिलाहरुलाई विभिन्न किसिमको स्वास्थ्य समस्या हुने गरेको छ भने बालबालिकाहरुलाई स्वास्थ्य समस्या देखिनुको साथै पढाइमा समेत असर परेको महिलाहरुले बताएका छन् ।

खानेपानीकै अभावका कारण त्यहाँ कुनै व्यवसाय तथा कलकारखाना संचालन नभएर स्थानीयको आर्थिक अवस्था पनि नाजूक बन्दै आएको छ । स्थानीय युवाहरु परिवारका सदस्यको हात मुख जोर्नका लागि विहानैदेखि कामको खोजीमा जिल्ला बाहिर निस्किने गरेको र अधिकांश पुरुष रोजगारीको शिलशिलामा विदेशिएका पनि छन् ।

वर्षायाममा चुरे क्षेत्रमा फुट्ने स–साना मूलहरुको संरक्षण गरिएको भएपनि ती मूलहरु हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको स्थानीयको भनाइ छ ।

ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको अमलेखगंज बारा जिल्लाको मुख्य पर्यटकीय स्थानको रुपमा पनि छ । तर पर्यटकीय शंभावना हुँदाहुँदै पनि खानेपानी अभावकै कारण त्यहाँ खेतीपाती होस् वा पशुपालन या कुनै व्यवसाय, होमस्टे र होटलको राम्राचे विकास हुन सकेको छैन ।

त्यसैगरी महिलाहरुमा सिप हुँदाहुँदै पानीको जोहो गर्नु पर्ने समस्याले उनीहरुले अन्य पेसा र व्यवसाय गर्न सकेका छैनन । स्थानीय रमिता थापाले विवाह गरेर आएको समय अर्थात करीब २८ वर्षदेखि पानीको समस्या झेल्दै आएको बताउनुभयो । स्थानीय २४ वर्षिय निशान थापाले पानीको लागि धेरै समस्या भएको र सानैदेखि फोहोर पानी पिउन बाध्य भएको बताउनुभयो ।

अमेलेखगंजको स्थानीयबासी समेत रहेकी प्रतीनिधि सभा सदस्य मधु शाही ठकुरीले पानीको अभावकै कारण कलकारखाना होटेल केहीको पनि विकास हुन नसकेको बताउनुभयो । उहाँले विकासको भरपुर सम्भावना र योजना भएपनि पानी अभावकै कारण विकास रोकिएको र युवाहरु पनि बेरोजगार नै रहेको बताउनुभयो ।

अमलेखगंजमा राष्ट्रिय निकुञ्जसंगै जोडिएर होटल व्यवसाय गरेका व्यवसायीहरुले पनि आफ्नो दुखेसो पोख्दै त्यहाँ, पानी अभावका कारण कुनै पनि व्यवसाय गर्न नसकिएको कारण आर्थिक समस्याबाट पनि गुज्रिनुपरेको बताएका छन् । होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि मोहन शर्मा लामिछानेले अमलेखगंजमा होटल व्यवसायीहरुले करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेको तर पानीको चरम अभावको कारण व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको बताउनुभयो ।

प्रदेश २ का खानेपानी तथा सिँचाई मन्त्री ओम प्रकाश शर्माले अमलेखगंजमा पानीको अभावबारे चासो देखाउँदै नेपाल ईन्जिनीयर एसोसिएसनमार्फत विज्ञ टोलीलाई खटाएर खानेपानी उपलब्धताबारे अध्ययन अनुसन्धान गराइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here