वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २० लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना ४८ प ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा नगद २० लाख रकम फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा निवासी ३१ वर्षीय चन्दन कुमार साहले बोकेको झोलाबाट अवैध रकम बरामद भएपछि साहलाई पक्राउ गरिएको खनालको भनाइ छ । प्रहरी नायब उपरीक्षक खनालका अनुसार साहविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको छ ।

यता, पक्राउ परेका साहलाई प्रहरीले जबरजस्ती फसाउन खोजेको उनका आफन्तले आरोप लगाएका छन् । बैंकको भौचर भरेर ११ लाख रुपैयाँ आईएमईमा जम्मा गराउन जाने क्रममा प्रहरीले रोकेको र प्रहरीसँगै जाने क्रममा जय गढीमाई मनी ट्रान्सफरको काउण्टरमा रहेको ९ लाख मिलाएर २० लाख रकम लिएर प्रहरीले फसाउन खोजेको साहका आफन्तको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here