हामी नेपालीको रमाइलो चाड तिहार आयो । रमाइलो बोकेर आयो । तिहारलाई यमपञ्चक पनि भनिन्छ नि । तिहार पाँच दिन मानिन्छ । पूरै पाँच दिन नै पूजा गरिन्छ । पहिलो दिन कागको पूजा गरिन्छ । मिठोमिठो खानेकुरा पकाएर आँगनमा निस्किएर ‘काककाक’ भनी कागलाई बोलाइन्छ । ‘काककाक’ भनेको सुनेर काग आँगनमा आउँछ । मिठो खानेकुरा खान्छ । रमाएर भुर्र उड्छ । काग रमाएको देखेर घरका सबै नानीबाबूहरू रमाउँदै उफ्रिन्छन् । दोस्रो दिन कुकुरको पूजा हुन्छ । कुकुरलाई सयपत्री फूलको माला र टीका लगाइदिइन्छ । मिठोमिठो खानेकुरा खान दिइन्छ । कुकुर खुब रमाउँछ । घरमा पनि सबै रमाउँछन् । तेस्रो दिन गाईको पूजा धूमधामले गरिन्छ ।

यद्यपि यसपाली भने काग तिहार र कुकुर तिहार एकैदिन परेकाले बुधबार मनाइएको छ । तेश्रो दिन गाईलाई सिँगारिन्छ । माला लगाइदिने गरिन्छ। मिठोमिठो खानेकुरा दिइन्छ । गाईलाई लक्ष्मी माता मानिन्छ ।

गाईले हामीलाई आमाले जस्तै दूध दिन्छिन् । गाई पूजाकै साँझ धूमधामले लक्ष्मी पूजा मनाइन्छ । लक्ष्मी पूजालाई दीपावली पनि भन्ने चलन छ । लक्ष्मी पूजाको दिन घर र आँगन सबैतिर दियो बालिन्छ । दियो बालिने भएकाले लक्ष्मी पूजालाई दीपावली पनि भनिएको हो । झिलिमिली हुन्छ । चौथो दिन गोरुको पूजा हुन्छ । पाँचौं दिन दिदीबहिनीबाट भाइको पूजा हुन्छ । दिदीबहिनीले मखमली फूलको माला लगाइदिन्छन् । रङ्गीचङ्गी मखमली फूल कहिले पनि ओइल्याउँदैन । सयपत्री फूल नरम रङ्गीचङ्गी हुन्छ। तिहारमा सबै खुसी हुन्छन् । यसरी काग, कुकुर, गाई, गोरु र मान्छेको पूजा गरेर हाम्रा पुर्खाहरूले यो पृथ्वी सबैको साझा हो भन्ने कुराको सन्देश दिएका छन् । हामीले पनि पृथ्वीका सबै प्राणीले मिलेर बस्नु पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।

साँच्चि हो, तिहार निकै रमाइलो चाड हो । तिहारको मुख्य खानेकुरा चामलबाट बनाइएका मिठाईहरू हुन । यसमा पनि सेल रोटीले हाम्रो मुखबाट पानी नै आउँछ । सयपत्री फूल फुलेर यही बेला ढकमक्क हुन्छ । मखमली फूल यही बेला फुल्छ । यो चाडलाई फूलैफूलको चाड भने पनि हुन्छ । दियोबत्तीको चाड भने पनि हुन्छ । तिहारमा देउसी–भैलो खेलिन्छ । देउसी–भैलो खेल्दा धेरै रमाइलो हुन्छ । हाम्रो देशका नेवार समुदायले यसैबेला ‘म्ह पूजा’ गर्छन् । ‘म्ह’ भनेको आफूले आफ्नै पूजा गर्नु हो । कोरोना कहरकैबीचमा यसपाली पनि तिहार भित्रिएको छ । दीपावलीको यो पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकबर्ग, बिज्ञापनदाता, शुभचिन्तक तथा शुभेच्छुकहरुमा हार्दिक मंलयमय शुभकामना ब्यक्त गर्दछौं । शुभ दीपावली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here