नरेश गुप्ता

बरियारपुर,नेपाल इन्जिनियर्स एशोसिएशन नेपाल बाराले जनकपुर घटनाको निन्दा गर्दै दोषिमाथि काराबाहीको माग गरेर बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

एशोसिएशन बाराका अध्यक्ष मुकेशराम साह र महासचिव धिरजकुमार साहलगायत अन्य सदस्य तथा पदाधिकारीहरुको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कलैयामा पुगेर प्रजिअ कटुवाललाई ज्ञापनपत्र बुझाइएको हो ।

प्रदेश नम्बर २ अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनुषाको निमित्त प्रमुख राजेश कुशवाहामाथि बिहीबार कार्यलय परिसरमा कालोमोसो दलेर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका थिए । निमित्त प्रमुख कुशवाहामाथि अमानवीय व्यवहार गरिएको भन्दै एसोसिएशनले घटनाको घोर निन्दा पनि गरेको छ ।

कानुनी राज्यमा एक राष्ट्र सेवक कर्मचारीमाथि अर्ध नग्न पारेर नगर परिक्रमा गराउने जस्ता अपराधिक क्रियाकलापमा सलगन रहेका जनमत पार्टीका कार्यकर्तालाई पक्राउ गरि कारबाही गर्न पनि एसोसिएशनले माग गरेको छ ।

१७ जनाविरुद्ध प्रहरी अनुसन्धान शुरु

जनकपुरधाम,खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

जनमत पार्टीका कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई बिहीबार शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए । उनीमाथि दुव्र्यवहार गर्ने १७ जनालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको छ ।

जिल्ला अदालतबाट उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

अभियोग पुष्टि भएमा उनीहरुलाई अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ । यसैबीच आफ्ना कार्यकर्ता पक्राउको विरोधमा जनमत पार्टीले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको छ । प्रदर्शनसहित नगर परिक्रमा गरेका जनमत पार्टीका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालयबाहिर धर्ना पनि दिएका थिए । प्रदर्शनकारीले पक्राउ परेका आफना पार्टी कार्यकर्ता रिहाइको माग गरेका छन् । उनीहरुको प्रदर्शन र धर्नाका क्रममा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका जनमत पार्टीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here