कृष्ण मोहन साह

सेढवा,प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीले जसपाबाट छुिट्टएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु गैरसंवैधानिक रुपमा संसद विघटन गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मतियार बनेको आरोप लगाउनुभएको छ । उहाँले त्यतिबेला नै ओलीको अलोकतान्त्रिक र गैरसंवैधानिक कदमको पार्टीले कहिल्यै पनि स्वागत गर्न नसक्ने अवस्था हुँदाहुँदै पनि ओलीको पछि लागेर केही नेताहरुले लोसपा गठन गरेको आरोप लगाउनुभयो ।

पर्साको ठोरी गाउँपालिकामा आइतबार आयोजित जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण अभियान अन्तर्गतको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । तत्कालीन समयमा प्रधानमन्त्री ओलीसंग मधेसको नागरिकताको समस्याको विषय, विभिन्न आन्दोलनका क्रममा लगाइएको झुठो मुद्दा खारेजी गराउन सफल भएको भनेर महन्थ ठाकुरले उतिबेला प्रचारप्रसार गरेपनि अहिलेसम्म एकजनाको पनि मुद्दा फिर्ता नभएको र नागरिकता अध्यादेश बमोजिम एकजनाले पनि नागरिकता प्राप्त नगरेको ठोकुवा गर्नुभयो ।

यस्तै पुर्व प्रधानमन्त्री ओलीकै कारण प्रदेश २ मा प्रहरी समायोजन ऐन ल्याउन ढिलाइ भएको आरोप लगाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री राउतले देशभर संविधान दिवस मनाइरहदा संविधानमा रहेको विभेदकारी र त्रुटीपूर्ण धाराहरु नसच्याएसम्म संविधान सर्वस्विकार्य हुन नसक्ने भएकोले संशोधन नगरेसम्म संविधानको विरोध आफ्नो पार्टीले गरिरहने बताउनुभयो । काङ्ग्रेस, एमाले र माओवादी लगायत पुराना पार्टीबाट उत्पीडनमा रहेका जनताको अधिकार सुनिश्चितता हुन नसकेकोले त्यसको विकल्पमा जनता समाजवादी पार्टी गठन भएको उहाँको विचार थियो ।

अर्को प्रसङ्गमा मुख्य मन्त्री राउतले ठोरीको सिकारीबास गाउँको समस्या, ठोरीको नदी नियन्त्रण, सिचाइ लगायतको समस्या समाधानमा प्रदेश सरकारले सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले पर्सा क्षेत्र नं.४ का सांसद लक्ष्मणलाल कर्ण पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक संसद विघटन गर्दा ओलीको प्रवक्ता बन्दै मतियार र दलाल बनेको आरोप लगाउनुभयो । उहाँले सांसद कर्णलाई भाडाको मान्छे भएको आरोप लगाउँदै उहाँले पार्टी छोड्दैमा जसपालाई कुनै फरक नपर्ने दाबी गर्नुभयो ।

अर्को प्रसङ्गमा संविधानको धेरै धाराहरुमा जसपाको विमति रहेको बताउँदै उहाँले जबसम्म संविधान संशोधन हुँदैन तबसम्म आफुहरुले संविधानको स्वामित्व ग्रहण नगर्ने प्रष्ट पार्नुभयो । सो अवसरमा सांसद यादवले ठोरीमा रहेको जग्गाको लालपुर्जा, सिचाइ, सडक लगायतमा रहेको समस्या समाधान गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको घोषणा गर्दै ठोरीका लागि विशेष प्याकेज ल्याउन मुख्यमन्त्रीसंग आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य आङकाजी शेर्पाले पर्सा निर्वाचन क्षेत्र नं. ४ मा यसअघि अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिको अन्तिम कार्यकाल भएको दाबी गर्दै अबको स्थानीय, प्रदेश र संघको निर्वाचनमा यस क्षेत्रबाट जसपाले विजयको झण्डा गाड्ने उद्घोष गर्नुभयो । उहाँले नेपालको संविधान अधुरो रहेकोले यसको संशोधन अपरिहार्य रहेको विचार व्यक्त गर्दै नेपालको सङ्घीयतालाई पहिचान सहितको नामाङ्कन गरेर पुनर्संरचना गर्नुपर्ने माग राख्नुभयो ।

यसैगरी कार्यक्रमका अर्का वक्ता जसपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री मोहनलाल चौधरीले करीव ३३ प्रतिशतको सङ्ख्यामा रहेको खसआर्यले ६६ प्रतिशतभन्दा धेरैको सङ्ख्यामा रहेको आदिवासी जनजाति र मधेसीलाई दमन गरेर राज्य संचालन गरिरहेको आरोप लगाउनुभयो । यस्तै अर्का केन्द्रीय सदस्य अन्जान शाक्यले जसपा अध्यक्ष उपेन्द्र यादवलाई मधेसको मसिहाको संज्ञा दिँदै जसपाकै कारण मधेसमा राजनीतिक चेतना बढेको बताउनुभयो । सो अवसरमा उहाँले निर्वाचित भएपछि जनताकोबीचमा फर्केर नआउने नेतालाई अब सबै मिलेर परास्त गर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद भिमा यादव, केन्द्रीय सदस्य विरेन्द्र यादव, पार्टीको पर्सा संयोजक रामनरेश यादव, पर्सा जिल्ला कमिटी सदस्य भुपदेव राय थारु लगायतले मन्तव्य राख्नुभएका थियो ।

जसपाको ठोरीका संयोजक रामबहादुर पाख्रीनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सांसदहरु करिमा बेगम, जन्नत अन्सारी, केन्द्रीय सदस्य एंव पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन लगायत जसपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो कार्यक्रममा जसपा पर्साका उपाध्यक्ष जरी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्‍म संघर्ष जारी रहने बताउनुभएको छ । वीरगन्ज घण्टाघरस्थित शहीद पार्कमा ०६२÷६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गर्दै आइतबार उहाँले सबैको संविधान नभएसम्म, उत्पीडनमा रहेका समुदायले आफ्नो संविधान हो भनेर महशुस नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । प्राप्त भएका उपलब्धिको संस्थागत नभएसम्‍म जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उहाँको भनाइ छ ।

संविधानमार्फत प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै बाँकी अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको उहाँको भनाइ छ । उहाँले प्रहरी दमनको सिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताउनुभयो । असोज ३ गते संविधान जारी भएका दिन वीरगन्जमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शत्रुधन पटेलको मृत्यु भएको थियो भने बगहीका मन्सी पटेल र बैरियाविर्ताका विजय यादव घाइते भएका थिए ।

‘उपेन्द्र यादव प्रचण्डको चेला’ ः सोनल

पोखरिया,

लोकतान्त्रिक समाजवादी पार्टीका नेता एंव प्रदेश सांसद जितेन्द्र सोनलले उपेन्द्र यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चेला भएको आरोप लगाउनुभएको छ ।

संविधान दिवसको अवसरमा आइतबार पर्साको पकहा मैनपुर गाउँपालिकामा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपेन्द्र यादव प्रचण्डको चेला भएका कारण मधेसमा माओवादी केन्द्रको भातृ संगठनको रुपमा काम गर्न चाहिरहेको बताएका हुन् ।

‘यादवले राष्ट्रियस्तरका नेता बन्ने चक्करमा मधेसलाई बिर्सेको सोनलको आरोप थियो । मधेसका जनता लोकतन्त्रप्रेमी भएको भन्दै आफूहरु लोकतान्त्रिक समाजवादको पक्षधर भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सोनलको भनाइ थियो । देशमा आएको संघीयताको जननी उद्गमस्थल नै मधेस भएको सोनलको कथन थियो । पकहा मैनपुर गाउँपालिका निवासी मधेसी शहिद शत्रुध्न पटेलको २०७२ साल असोज ३ गते संविधान जारी भएको दिन वीरगन्जमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here