वीरगन्ज,पर्सा र बारा जिल्ला लगायत यस क्षेत्रमा हुने बिभिन्न अपराधिक घटनामा संलग्न रहेको भन्दै पर्सा प्रहरीले विवेक सिंह भनिने फुलहसन अन्सारीलाई पक्राउ गरेको छ ।

वीरगन्जको बिर्ता बजार, घण्टाघरस्थित मिना बजार लगायतका स्थानमा बम विफोष्ट गरी उद्योग व्यवसायी तथा सर्वसाधारणबाट चन्दा असुली गर्ने कार्यमा संलग्न रहेको भन्दै फुलहसन अन्सारीलाई सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

अंसारी सहितको गिरोहले २०७६ साउन २४ गते वीरगन्जको बिर्ता बजार र २८ गते घण्टाघर नजिकैको मिना बजारमा बम विस्फोट गराएका थिए । प्रहरीले बम विस्फोट तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारी लाई पक्राउ गरी उनीहरू बिरुद्ध विस्फोटक पदार्थ खरखजाना तथा सङ्गठित अपराध अन्तरगतको मुद्दामा पर्सा जिल्ला अदालतले २ वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भई उनीहरू वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरी रहेका छन् भने आपराधिक गिरोहका मुख्य योजनाकार फुलहसन अन्सारी नै भएको र उनी घटना पश्चात् फरार भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

फरार अन्सारी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाटेर अङ्कित पटेलको नामबाट भारतीय आधार कार्ड बनाइ उतै बस्दै आएको अवस्थामा फेरि वीरगन्जका उद्योगी तथा व्यपारीहरूलाई फोनमार्फत धम्की दिई रकम असुली गर्ने कार्य सुरु गरेको समेत अनुसन्धानको क्रममा खुलेको छ । उनले नै २०६५ पुस ७ गते वीरगन्ज महानगरपालिका वडा नम्बर १३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको अभियोगमा हतियारसहित पक्राउ गरिएको र अदालतबाट उनी बिरुद्ध सर्वस्वसहित जन्मकैद ठहर भई कैद भुक्तान गरिरहेको अवस्थामा २०७४ असोज ८ गते विजया दशमीको अवसरमा ५६ प्रतिशत बाँकी कैद मिनाहा भई वीरगन्ज कारागारबाट छुटेका थिए ।

अन्सारी हाल वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपोनीको विभिन्न अपराधमा संलग्न विदेशी साहको समूहमा आवद्ध समेत रहेको पाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here