निजगढ,बाराको निजगढ र पर्साको ठोरी गाउँपालिकामा बिहीबार तपाईको मास्क खै ? अभियान संचालन गरिएको छ ।

इलाका प्रहरी कार्यालय निजगढको आयोजनामा निजगढमा भएको कार्यक्रम अन्तर्गत करिव १ हजार ५ सय थान मास्क निशल्क वितरण गरिएको छ । कोभिड १८ को संक्रमणबाट जोगिन स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले प्रहरीले शहिद चोकदेखि बुद्ध चोकसम्म पुर्वपश्चिम राजमार्गको दायाँबाया क्षेत्रमा र्याली सहित मास्क वितरण गरेको थियो । त्यसक्रममा मास्कको प्रयोग नगरी हिडडुल गरेका स्थानीयलाई मास्क वितरण गर्नुका साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालन जानकारी प्रदान गरिएको प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताउनुभयो । कोरोना संक्रमणबाट बच्न मास्क प्रभावकारी हुने भएपनि निजगढमा पछिल्लो समय सर्वसाधरणमा मास्कको प्रयोग गर्ने क्रम कम हुदै गएपछि ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा निजगढ उद्योग बाणिज्य संघका पदाधिकारी, लायन्स क्लब निजगढ र निजगढ सिटीका पदाधिकारी, स्थानीय अगुवा, संचारकर्मी र सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

त्यसैगरी कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेसंगै नेपाल प्रहरीले सुरु गरेको ‘तपाईको मास्क खै ?’ अभियान ठोरी गाउँपालिकामा पनि सुरु भएको छ । ईलाका प्रहरी कार्यालय ठोरीले विभिन्न ठाउँहरुमा मास्क नलगाउने सर्वसाधरणलाई निशुल्क मास्क वितरण गर्दै अभियान थालेको हो ।

प्रहरीले ठोरी गाउँपालिका वडा नम्बर– २ मा रहेको टाउन बजार, ३ को रामनगर र ४ को विजयवस्ती क्षेत्रमा मास्क बिना नै हिँडडुल गरिरहेका स्थानीयहरुलाई मास्क लगाउन आग्रह गर्दै सचेतनाको लागि निशुल्क मास्क समेत वितरण गरेको उहाँले बताउनुभयो ।

ठोरीका विभिन्न चोकमा जम्मा भएर प्रहरीले सर्वसाधारण, सवारी चालक लगायतलाई कोरोना संक्रमणबाट बच्न मास्क सबैभन्दा प्रभावकारी उपाय भएकाले मास्कको महत्वको बारेमा जानकारी दिदैँ सँधै घर बाहिर निस्कदा मास्क लगाउन आग्रह गरेको थियो । सो अवसरमा प्रहरीको टोलीले ‘तपाईको मास्क खोइ ?’, ‘मास्क र सेनिटाइजर प्रयोग गरौँ, कोभिड–१९ बाट बचौँ’, ‘मास्क लगाऔं, कोरोनाबाट बचौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड र हातमा मास्क बोकेर चोकचोकमा पुगेर सर्वसाधरणलाई मास्क लगाउन अनुरोध र सचेत गराएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । अभियानलाई शुक्रबार पनि निरन्तरता दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here