सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जितपुर र सिमरा बजारका ५ पसललाई बाणिज्य आपूर्ति कार्यालयले जरिवाना गरेकोे छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सिमरा र नगर उद्योग वाणिज्य संघ सिमरासहितको टोलीले ५ पसललाई ८० हजार रुपैयाँ जरिवाना तिराएको हो । खरिद बिल नदेखाउने जीतपुरसिमरा वडा नम्बर ३ स्थित विकास जेनरल स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै ३ हजार ८ सय ५५ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ नष्ट गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार दफा ३९ बमोजिम खरिद बिल नदेखाउने सिमरास्थित आर एन इन्टरप्राईजेजलाई २० हजार र निरीक्षण कार्यमा आवश्यक सहयोग नगर्ने जीतपुरसिमरा वडा नम्बर ६ स्थित ओम शिवशक्ति जेनरल स्टोर्सलाई पनि २० हजार जरिवाना तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो । उहाँका अनुसार खरिद बिल नदेखाउने जितपुर जीतपुरसिमरा वडा नम्बर १ स्थित भाई किराना स्टोर्सलाई १० हजार र सोही ठाउँको देवदास फेन्सी स्टोर्सलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै देवदास फेन्सी स्टोर्सबाट म्याद नाघेका २२ हजार ६ सय ७० रुपैयाँ बराबरको पेय पदार्थ समेत नष्ट गरिएको छ । जरिवानाको रकम एक साताभित्र बैंकमा जम्मा गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता खत्वेले बताउनुभयो ।

यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने पर्सामा ६३, बारामा १८, रौतहटमा आठ, सर्लाहीमा १८, धनुषामा ६, महोत्तरीमा आठ, मकवानपुरमा नौ र चितवनका १५३ व्यापारिक फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७ को साउन महिनादेखि २०७८ को असार महिनासम्ममा ३६२ वटा फर्ममा अनुगमन गरी तीमध्ये १५३ फर्मलाई कारवाही गरी रु ४५ लाख ४३ हजार जरिवाना गरेको हो । सबैभन्दा बढी वीरगन्जस्थित एसआर रेडिमेड उद्योगलाई तीन लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो चोरी आफ्नो उत्पादनमा लगाउने गरिएको पाइएकाले उक्त उद्योगलाई हदैसम्मको जरिवाना गरिएको हो । यसैगरी वीरगन्जकै जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार र माई स्थान चोकमा रहेका गगन ट्रेडिङ हाउसलाई रु दुई लाख जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

 

हेटौँडा उपमहानगरपालिका(३ स्थित घरसंसार पसललाई रु तीन लाख जरिवाना गरिएको छ । ती व्यापारिक फर्मले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरी कारवाही गरिएको निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीले बताउनुभयो । उक्त कार्यालयले सो आर्थिक वर्षमा पर्सामा ६३, बारामा १८, रौतहटमा आठ, सर्लाहीमा १८, धनुषामा छ, महोत्तरीमा आठ, मकवानपुरमा नौ र चितवनमा २३ फर्मको अनुगमन गरी जरिवाना गरेको हो । नेपालभर रहेका वाणिज्य कार्यालयमध्ये सबैभन्दा बढी राजस्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी गर्दै कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्वेले भन्नुभयोे, ‘जरिवाना गरिएको फर्महरुले तोकिएकै समयमा कार्यालयमा उपस्थित भई जरिवाना बुझाएका छन ।’ उहाँका अनुसार कार्यालयले प्रदेश २ को आठ जिल्लासहित मकवानपुर र चितवनसहित १० जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here