रौतहट,मौलापुर नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लाखौं रुपैयाको अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष युवा संघ नेपाल सचिवालय सदस्य रामकल्याण यादवले ज्ञापन पत्र बुझाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा यादवसहित उपस्थित भएका कामदारहरुले कार्यक्रम अन्तर्गत तेकिएको समय भन्दा कम दिन काम लगाएको र कामदारलाई रकम पनि कम भुक्तानी दिएको भन्दै कारबाहीको लागि पत्र बुझाएका हुन ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत न्युनतम १ सय दिन रोजगारी दिनुपर्ने र सो बापत प्रतिदिन ५ सय १७ रुपैयाको दरले कामदारलाई ज्याला रकम भुक्तानी दिनु पर्ने प्रावधान रहेको भएपनि नगरपालिकाले ३५ देखि ४० दिनमात्र काममा लगाएको र कम रकम दिएको यादबले बताउनुभएको छ ।

मौलापुर नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत कामदारहरुलाई नाला, पिकनिक पार्क र मन्दिर परिशर सरसफाइ गराइएको थियो । मौलापुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा २ सय ६७ जनाले आवेदन दिएका थिए । तर १ सय ८३ जनालाई मात्र छनौट गर्ने प्रवधान रहेको कार्यक्रम संयोजक सारदा अर्याले बताउनुभयो । १ सय ८३ जनालाई १ सय दिन काम गराएर दैनिक ५ सय १७ रुपैयाका दरले ज्याला दिने प्रवधान रहेको भएतापनि समय अभावका कारण बजेट फ्रिज हुनबाट जोगाउन २ सय ६७ जनालाई नै काममा लगाइएको अर्यालले बताउनुभयो ।

छनौट भएका कामदारहरुले ५१ हजार १ सय ८३ रुपैया पाउनु पर्ने भएपनि कामदारहरुसग खाली चेकमा सही गराइ दुई वटा चेकबाट ५० हजार १ सय ८३ रकम झिकिएको तर कार्यक्रम संयोजक अर्यालले ११ देखि १८ हजारसम्म मात्रै दिएको कामदाहरुको भनाइ रहेको छ । कामदारको खाताबाट कति रकम भुक्तानी लिइएको हो र सो बराबरको रकम कामदारहरुलाई नै दिनु पर्ने युवा संघ नेपालका सचिवालय सदस्य रामकल्याण यादवले माग गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here