वीरगन्ज,वीरगन्जको बजारमा मानव स्वास्थ्यका लागि हानी गर्ने विषादी कार्बाइट प्रयोग गरेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भइ खान योग्य हुने भएपनि वीरगन्जको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको हो । वीरगन्जका साथै पोखरीया, बाराको कलैया, जितपुर, सिमराका बजारहरुमा समेत कर्वाइट हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको शुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका वीरगन्जका व्यपारीहरुले दुई सातायता भने पुर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइट हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । व्यापारीहरूले प्रतिकेजी ४०÷५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइट प्रयोग गरेर ८० देखि १ सय रुपैयाँ सम्ममा बिक्री गरिरहेका हुन ।

वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका अध्यक्ष विदर गुप्ताले सिजनको शुरुमा वीरगन्ज र यस आसपासाका बजारहरुमा भारतको गोवा, मद्रास, केरला र आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताउनुभयो । असार पहिलो सातापछि भने पूर्वीतराईका जिल्लामा फलेका आँप वीरगन्जको बजारमा आउने गरेको गुप्ताले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पर्साको बागवानी शाखाका प्राविधिक श्यामकिशोर कुर्मीका अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भएको छ । कुर्मीले नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको बताउनुभयो । अहिले बजारमा पाइने आँप छिटो पकाउन कर्वाइट विषाधि प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझाव उहाँको छ । विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखा पर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताउनुभयो ।

प्र्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइट प्रयोग गरी आँप पकाउन प्रतिवन्ध लगाएको छ । खाद्य ऐन अनुसार प्रतिवन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ । तर व्यपारीहरुले कार्बाइट विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here