वीरगन्ज,नारायणी अस्पतालमा ३० बेडको बाल सघन चिकित्सा कक्ष संचालनमा आएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ र नारायणी अस्पतालको संयुक्त पहलमा नारायणी अस्पतालको भवनमाथि ३० वेडको बाल सघन चिकित्सा ईकाइको आइतबार उदघाटन गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिारी पिताम्बर घिमिरेले बाल सघन चिकित्सा ईकाइको उदघाटन गर्नुभएको हो । उदघाटनपछि बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले कोरोना संक्रमणको महामारीमा वीरगन्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणमा सहयोग गरेर सहनीय काम गरेको बताउनुभयो । कोरोना संक्रमणको अत्यन्त जोखिम अवस्थाबाट केही सहजतातर्फ गइरहेको अवस्थामाफेरि तेश्रो भेरियण्टको पनि जोखिम रहेकोले त्यसबाट बालबालिकामा बढी प्रभाव पर्ने समेत विज्ञहरुले सचेत गराइरहेको अवस्थामा नारायणी अस्प्तालमा बालबालिकाहरुको उपचारका लागि सघन चिकित्सा ईकाई निर्माण र संचालनले धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले वीरगन्जका निजी क्षेत्रले सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको र त्यसैको निरन्तरता स्वरुप बाल सघन चिकित्सा ईकाईको निर्माण र संचालन आएपछि बालबालिकाहरुको उपचारमा सहज हुने विचार व्यक्त गर्नुभयो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले कोरोना भाईरस संक्रमणको पहिलो र दोश्रो लहरमा वीरगन्जले ठूलो मानवीय क्षति व्यहोर्नु परेको र फेरि तेश्रो भेरियण्ट पनि आउने सम्भावना भएकोले त्यसमा बालबालिका बढी प्रभावित हुने वैज्ञानिकहरुको भनाइलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा बाल सघन चिकित्सा ईकाइ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले बाल सघन चिकित्सा ईकाइ निर्माणमा वीरगन्ज उद्योग वाणिज्य संघका सबै उद्योगी व्यवसायीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेको बताउनुभयो । ३० बेडको सघन चिकित्सा ईकाइ निर्माणमा १५ लाख लणगत लागेको र अब त्यसमा अक्सिजन पाईपलाईन जडानको लागि पनि १० लाख खर्च हुने अनुमान रहेको बताउनुभयो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्रबहादुर प्रधानले अस्पतालमा बाल सघन चिकित्सा ईकाइ स्थापना गर्न सहयोग गरेकोमा वीरगन्ज उद्योग वाणिज्य संघलाई धन्यवाद दिदै अस्पतालमा बालबालिकाको स्वास्थ्य उपचारमा सहज भएको र गुणस्तरीय सेवामा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, नेकपा एमालेका महेस दास, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक टेमानी, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँल, पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसान्धानका अनुसन्धान उपनिर्देशक टिका पोखरेल, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गर्नुभएको वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारी सचिव सुनिलकुमार कण्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here