कृष्ण मोहन साह

सेडवा,गत बुधबारदेखि परेको अबिरल बर्षाका कारण पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मा खानेपानीको समस्या भएको छ । बर्षाका कारण खानेपानीको मुहान भत्किएपछि ठोरी ४ मा पर्ने साबिक निर्मलवस्ती गाविसको वडा नम्बर ५ र ६ का स्थानीयलाई खानेपानीको समस्या परेको हो । धारामा पानी नआएपछि स्थानीयलाई पिउन र गाईवस्तुलाई पानी खुवाउन समस्या परेको छ । साबिकको निर्मलवस्ती गाविसको वडा ५ र ६ का स्थानीयले पर्सा राष्ट्रिय निकुन्जको कोर क्षेत्रमा रहेको पानीको मुहानबाट पाइपलाईन मार्फत ल्याएको पानी खानेपानीको रुपमा उपभोग गर्दै आइरहेका छन् । वडा नम्बर ४ मा रहेको नेपाली सेनाको निर्मलवस्ती पोस्टबाट करीब ५ किलोमिटर उत्तरतर्फ पर्सा राष्ट्रिय निकुन्जभित्र रहेको खानेपानीको मुहानमा रहेको किनाराको भाग बर्षेनी बर्षा सुरु भएसंगै पानीले भत्काउने गरेको छ । यस बर्ष त्यही समस्याका कारण ठोरी गाउपालिकाले मुहान मर्मत गर्न र पक्की पर्खाल लगाउन ७ लाख ५० हजार बजेट बिनियोजन गरेको थियो । गत बैशाखमा करीब २ साता खानेपानी नै बन्द गरेर मर्मतको काम सम्पन्न गरेको भएपनि मुहानसम्म आउने पानीको कुलो नै अत्याधिक बर्षाले भत्काएको निर्मलवस्ती खानीपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर पाख्रिनले जानकारी दिनुभयो ।

अघिल्लो साता परेको झरीमा पनि उक्त कुलो भत्किएको थियो । करीब २५ जनाको सङ्ख्यामा गएका स्थानीयले मर्मत गरेर पानी सन्चालनमा ल्याएको भएपनि पुनः भत्किएको हो । निरन्तर पानी बगिरहने ठाउँ भएकाले जनश्रमदानबाट मात्र कुलो मर्मत गर्न नसकिने अवस्था रहेको अध्यक्ष पाख्रिनले बताउनुभयो । खानेपानीको मुहान मर्मत गर्न ठोरी गाउँपालिकाले जेसिबी प्रयोगको अनुमति दिएको भएपनि पर्सा राष्ट्रिय निकुन्जसंग समन्वय गर्नुपर्ने भएकोले झन्झटिलो भएको उपभोक्ता समितिको भनाइ छ । निकुन्जको कोर क्षेत्र भएकाले मानिस वा सवारी साधन मुहानमा प्रवेश गर्न सबैको लागि अनिवार्य निकुन्जको अनुमति चाहिन्छ । खानेपानीको मुहानमा कुनै समस्या आउनेबित्तिकै स्थानीयले निकुन्जको अनुमति लिएर मात्र प्रवेस पाउने गरेका छन ।

सिमसार क्षेत्र समेत रहेको उक्त पानीको मुहानमा हात्तीले पानीको पाईप नै भत्काईदिने समेत गरेको छ । निकुन्ज क्षेत्रभित्र सदाबहार रहिरहने पानीको मुलबाट कुलो बनाएर मुहानमा जम्मा गरिएको छ । त्यहाबाट पाईपलाईनमार्फत नेपाली सेनाको निर्मलवस्ती पोस्टमा रहेको पानी ट्याङ्कीमा जम्मा हुने र सोही ट्याङ्कीबाट आएको पाइपमार्फत साबिक वडा ५ र ६ मा वितरण गर्ने गरिएको छ । स्थानीयले ३ दशक अघिदेखि प्रयोग गर्दै आइरहेको खानेपानीको संरचना पुरानो भएको तर मर्मत सम्हारमा चासो नदिइएकाले पनि नियमित जसो खानेपानी अवरुद्ध हुन थालेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here