वीरगन्ज,जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जनाएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञा शुरु भएयता जिल्ला प्रशासन कार्यालय पर्साबाट एउटा पनि नागरिकता वितरण नभएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएर भएका पोष्ट र आएका समाचारप्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण रोकथाम र संक्रमणको श्रृंखला तोड्न पर्सा जिल्लामा बैशाख १६ गतेदेखि नै जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको भन्दै पौडेलले निषेधाज्ञा जारी भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा र कोभिड नियन्त्रणसंग सम्बन्धित अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल बन्द रहेको बताउनु भएको छ । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियो फुटेज पुरानो रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहिन, असत्य र कपोलकल्पित रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले स्थानीय प्रशासनको प्रयास कोभिड–१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा मात्रै केन्द्रित रहेको विज्ञप्तिमार्फत जानकारी दिन्ुएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here