पुष्पराज खतिवडा

मनहर्वा,कोरोना संक्रमण महामारीका कारण प्रदेश नं.२ मा मात्रै २५ हजार भन्दा बढी होटल मजदुरको रोजगारी गुमेको छ । तीनतारे, चारतारे, पर्यटकीय र साना तथा मझौला गरी करिब पाँच हजार होटलहरु यो प्रदेशका ८ जिल्लाहरुमा संचालनमा छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण होटलहरुमा काम गर्ने मजदुरहरुको रोजगारी गुमेको हो । अरबौंको लगानी रहेको होटल व्यवसाय यतिखेर कोमामा पुगेको छ । यस्तो बेलामा मजदुर पाल्न सक्ने अवस्था नरहेको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिब मोहन शर्मा लामिछानेले बताउनुभयो ।

कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले बैशाख पहिलो सातादेखि जारी गरेको निषेधाज्ञासँगै होटल व्यवसाय बन्द छन् । होटल बन्द भएपछि एकाद बाहेक सबै मजदुर कटौति गरेर बिदा गरिएका छन् । रोजगारी गुमेपछि मजदुरहरु पनि समस्यामा छन् । यद्यपि महामारीमा व्यवसाय भन्दा ठुलो मावन जीवनको रक्षा भएको हुँदा आवश्यक परेका खण्डमा बाराको सिमरामा रहेको आफनो होटल सगुनलाई निःशुल्क आईसुलेसनका रुपमा प्रयोग गर्न दिने महासंघका महासचिव लामिछानेले बताउनुभयो ।

प्रदेश नं.२ अन्तरगत बाराको सिमरा, कलैया पर्साको वीरगन्जं, महोत्तरीको बर्दिवास र धनुषाको जनकपुरमा आधा दर्जन तारे होटल छन् । यस्तै अन्य जिल्लाहरुमा समेत गर्दा तारे होटलकै हाराहारीका एक दर्जन र ३ सय ५० पर्यटकीय होटल संचालनमा छन् । साना र मझौला होटलको संख्या अधिक छ, शर्माले जानकारी दिनुभयो । प्रदेश दुईका वीरगन्ज, सिमरा, कलैया, अमलेखगजं, निजगढ, चन्द्रनिगाहपुर, नयाँरोड, हरिवन, लालबन्दी, बर्दिवास, ढल्केबर, जनकपुर, लहान, सप्तरीको बरमझिया र राजविराज होटल तथा पर्यटनको हव हुन् । कारोना महामारीको पहिलो लहरबाट धरमरिएको यो व्यवसाय विस्तारै तंग्रिंदै गरेको अवस्थामा दोस्रो भेरियन्टको प्रकोप सुरु भएपछि पुन थला परेको रंगकर्मी एवं पर्यटन व्यवसायी युवराज लामाले बताउनुभयो ।

उहाँका अनुसार महामारी कति समय रहन्छ । सोको यकिन गर्ने अवस्था छैन, त्यो नै सबैभन्दा खतराको विषय हो । यस्तो अवस्थामा सरकारी कर, घरभाडा, विजुली पानीको शुल्क र बैंकको ब्याज तीर्न सक्ने अवस्था हुँदैन । मजदुर जोगाउन सक्ने कुरा झन परको कुरा भयो । बैंकहरुले सहुलियत कर्जामा मुख हेरेर ब्यवहार गर्ने गरेका छन् । कसैलाई ३ त कसैलाई ७ प्रतिशतसम्मको ब्याज असुल्दै बैंकहरुले सरकारको निर्देशनलाई बेवास्ता गर्ने गरेकाले व्यवसायीहरु समस्यामा परेको लामाले सुनाउनुभयो ।

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउण्डेसन राष्ट्रिय अध्यक्ष समेत रहनुभएका लामाले यस्तो अवस्थामा देशभरका होटल तथा रेष्टुरेण्टहरु कोभिड अस्पताल तथा आईसुलेसनका रुपमा दिन तयार छन् । त्यसका लागि राज्यले समन्वय गर्न जरुरी छ । राज्यले थोरै मात्रै लागत बेहोर्ने हो भने देशभरका होटल प्रयोग गर्न सक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here